गाैमुल खबर डटकम मङ्गलबार २६, फागुन २०८२ ०५:२९

दूरदराजको पीडा : स्वास्थ्य संस्था नपुग्दा बाजुरामा बाटोमै सुत्केरी गराउन बाध्य

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, फागुन २६, २०८२
दूरदराजको पीडा : स्वास्थ्य संस्था नपुग्दा बाजुरामा बाटोमै सुत्केरी गराउन बाध्य

बाजुरा ः दुर्गम जिल्लामा सुरक्षित मातृत्व अझै पनि चुनौतीपूर्ण बनेको छ । स्वास्थ्य संस्था टाढा हुनु, समयमा सवारी साधन नपाउनु र युवाशक्तिको अभावका कारण धेरै गर्भवती महिलाहरूलाई प्रसूति सेवामा पहुँच पाउन कठिनाइ भइरहेको छ ।

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा यस्तै एक घटनाले दुर्गम क्षेत्रको वास्तविकता झल्काएको छ । प्रसूति पीडा सुरु भएपछि स्वास्थ्य संस्थातर्फ लैजाँदै गर्दा बाटोमै एक महिलाले बच्चा जन्माएकी छन् ।

स्वास्थ्य संस्थासम्म पुग्न नसक्दा स्वास्थ्यकर्मीको सहायतामा बाटोमै सुत्केरी गराउनुपर्ने बाध्यता सिर्जना भएको हो । उक्त घटनामा स्वास्थ्यकर्मी विस्ना कार्कीले तत्काल उपस्थित भई सुरक्षित रूपमा प्रसूति गराएकी थिइन् ।

कठिन भौगोलिक अवस्था, सडक तथा यातायातको अभाव र स्वास्थ्य संस्थासम्म पुग्न लाग्ने लामो समयका कारण दुर्गम क्षेत्रका गर्भवती महिलाहरू अझै जोखिमपूर्ण अवस्थाबाट गुज्रिनुपरेको स्थानीयले बताएका छन् ।

स्वास्थ्यकर्मीहरुका अनुसार धेरै महिलाहरू प्रसूति मिति नजिकिँदासमेत पहिले नै प्रसूति केन्द्रमा गएर बस्न इच्छुक नहुँदा पनि यस्ता समस्या देखिने गरेका छन् ।

जसका कारण आकस्मिक अवस्थामा बाटोमै सुत्केरी गराउनुपर्ने घटना कहिलेकाहीँ दोहोरिने गरेको छ । दूरदराजका बस्तीहरूमा सुरक्षित मातृत्व सुनिश्चित गर्न प्रसूति केन्द्रको पहुँच विस्तार, जनचेतना वृद्धि तथा आपतकालीन यातायात व्यवस्थापनमा स्थानीय तहले थप ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ ।
 

प्रतिक्रिया