गाैमुल खबर डटकम सोमबार २५, फागुन २०८२ ०४:४३

निर्वाचन परिणामपछि एमाले बाजुरा अध्यक्ष ओलीको आह्वान : “निराश होइन, संगठन बलियो बनाउँदै जनतामाझ फर्कौं”

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, फागुन २४, २०८२
निर्वाचन परिणामपछि एमाले बाजुरा अध्यक्ष ओलीको आह्वान : “निराश होइन, संगठन बलियो बनाउँदै जनतामाझ फर्कौं”

बाजुरा ःनेकपा (एमाले) बाजुरा अध्यक्ष लाल बहादुर ओलीले प्रतिनिधिसभा निर्वाचन २०८२ को परिणामलाई स्वीकार्दै पार्टीका नेता तथा कार्यकर्तालाई निराश नहुन आग्रह गरेका छन्। उनले निर्वाचन लोकतान्त्रिक प्रक्रिया भएकाले विजय र पराजय स्वाभाविक भएको उल्लेख गरेका छन्।

अध्यक्ष ओलीले प्रतिनिधिसभा निर्वाचन २०८२ फागुन २१ मा सम्पन्न मतदानमा एमालेका तर्फबाट उम्मेदवार लाल बहादुर थापाले १६ हजार ६३३ मत प्राप्त गरेको जानकारी दिँदै मतदाताप्रति हार्दिक आभार व्यक्त गरेका छन्।

उनले पार्टीविरुद्ध विभिन्न प्रकारका घेराबन्दी भए पनि मतदाताले दिएको समर्थनलाई सम्मानजनक उपलब्धि भएको बताएका छन्। निर्वाचनका क्रममा दिन-रात खटिएका पार्टीका नेता तथा कार्यकर्ता, समर्थक र शुभेच्छुकप्रति धन्यवाद व्यक्त गर्दै ओलीले आगामी दिनमा पार्टीलाई अझ सशक्त बनाउनेतर्फ लाग्नुपर्नेमा जोड दिएका छन्।

उनले निर्वाचनमा भएको पराजयबाट हतोत्साहित नहुन कार्यकर्तालाई आग्रह गर्दै भने, “एक पटकको कमजोरी सुधार गर्न सकेमा जीवनभर ऊर्जा प्रदान गर्दछ। लड्नु सामान्य हो, तर लडेर उठ्नु र अघि बढ्नु महानता हो।”

अध्यक्ष ओलीका अनुसार निकट भविष्यमा पार्टीका विभिन्न तहमा बैठक बसेर निर्वाचनको विस्तृत समीक्षा गरिनेछ। साथै संगठनलाई बलियो बनाउँदै जनताको समर्थन प्राप्त गर्ने प्रभावकारी योजना तयार गरिने उनले बताए।

पार्टीका सबै तहमा आवश्यक परे साङ्गठनिक गठन, पुनर्गठन र सुधार गर्दै नेताहरूको कार्यशैली कार्यकर्ता तथा जनमैत्री बनाउनुपर्नेमा उनले जोड दिएका छन्। जनताका गुनासा सुन्ने र समाधान गर्ने प्रणाली विकास गर्न एमाले बाजुरा प्रतिबद्ध रहेको पनि उनको भनाइ छ।

उनले पालिका, वडा तथा टोलस्तरसम्म पुगेर मतदाता, समर्थक र शुभेच्छुकलाई औपचारिक तथा अनौपचारिक रूपमा धन्यवाद दिँदै जनतामा विश्वास जगाउन पार्टीका सम्पूर्ण नेता–कार्यकर्तालाई सक्रिय हुन आह्वान गरेका छन्।

प्रतिक्रिया