बाजुरा ःनेपाली काँग्रेस निकट कार्यकर्ताद्वारा राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी बाजुराका संयोजक विष्ण कार्कीमाथि आक्रमण भएको छ । घटना मंगलबार साँझ कोल्टीमा क्षेत्र आसपास भएको जनाइएको छ ।
प्रत्यक्षदर्शीका अनुसार कार्की हिडिरेहेको अवस्थामा मदिराले लठ्ठ भएका काँग्रेस कार्यकर्ता लोकेश गिरी र कमल खत्री सांघातिक आक्रमण गरेका हुन् ।
सामान्य विवादका क्रममा सुरु भएको भनिएको झडप पछि हातपातमा परिणत भएको थियो । आक्रमणबाट कार्की घाइते भएका छन् ।
उनको अवस्था सामान्य रहेको र स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि घर फर्किएको स्रोतले जनाएको छ । घटनापछि राष्ट्रिय युवा संघ नेपाल बाजुराले प्रेस विज्ञप्ति जारी गर्दै घटनाको कडा शब्दमा निन्दा गरेको छ ।
विज्ञप्तिमा राजनीतिक आस्थाका आधारमा गरिने कुनै पनि प्रकारका हिंसात्मक गतिविधि अस्वीकार्य रहेको उल्लेख गरिएको छ । साथै दोषीमाथि यथाशीघ्र छानबिन गरी कानुनी कारबाही गर्न माग गरिएको छ । विज्ञप्तिमा सत्यतथ्य छानबिन गरी कानुनी प्रक्रियाअनुसार कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।
यता जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक इकवाल हवारीले घटनाको विषयमा छानवीन गरी आवश्यक प्रक्रिया अघि बढाउने बताउँदै घटनामा संलग्नहरुको खोजी कार्य जारी रहेको समेत बताएका छन् ।
जिल्लामा निर्वाचनको बेला भएका कारण पछिल्लो समय राजनीतिक गतिविधि तीव्र बन्दै गएको अवस्थामा यस्ता घटनाले शान्ति सुरक्षामा चुनौती थप्ने चिन्ता व्यक्त गरिएको छ ।
प्रतिक्रिया