बाजुरा ः आफ्नो जन्मदिनलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै बुढीगंगा नगरपालिका-२ स्थायी घर भई हाल फालासैनमा ‘विपी फेन्सी स्टोर’ सञ्चालन गर्दै आएकी व्यवसायी विमला (विष्ट) थापाले कन्सर्न बाजुरामा आश्रित १७ जना अनाथ बालबालिकालाई आवश्यक शैक्षिक सामग्री तथा एक-एक जोर चप्पल सहयोग गरेकी छन्।
२७ औँ वर्ष प्रवेशको अवसरमा अनावश्यक तडक-भडक र व्यक्तिगत खर्च कटाएर उनले उक्त रकम सामाजिक सेवामा खर्च गर्ने निर्णय लिएकी हुन्। सहयोग स्वरुप बालबालिकालाई कापी, कलम लगायतका स्टेशनरी सामग्री तथा दैनिक प्रयोगका लागि चप्पल वितरण गरिएको हाे ।
थापाले पति पारस थापा र सासू आमा तारा खाती थापाको साथमा कन्सर्न बाजुरा पुगेर बालबालिकाबीच जन्मदिन मनाएकी थिइन्। जन्मदिनको अवसरलाई परोपकारी कार्यसँग जोड्नु आफूलाई आत्म सन्तुष्टि दिने कार्य भएको उनले बताइन्।
“जन्मदिन केवल व्यक्तिगत खुसीको दिन मात्र होइन, अरुको जीवनमा सानो भए पनि खुसी बाँड्ने अवसर पनि हो,” उनले भनिन्, “बालबालिकाको अनुहारमा देखिएको मुस्कान नै मेरो जन्मदिनको सबैभन्दा ठूलो उपहार हो।”
स्थानीयबासीले थापाको यो कार्यलाई प्रशंसनीय उदाहरणका रूपमा लिँदै अन्य व्यक्तिलाई पनि यस्ता सामाजिक कार्यमा प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्।
सामाजिक उत्तरदायित्व प्रति सचेत हुँदै व्यक्तिगत अवसरलाई समाज सेवामा रुपान्तरण गर्ने थापाको पहलले समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको छ।





प्रतिक्रिया