गाैमुल खबर डटकम सोमबार ०४, फागुन २०८२ ०५:०६

महिनावारी विभेद अन्त्यको अभियान : बुढीगंगामा ‘गरिमा परियोजना’ लागू, मर्यादित महिनावारीमैत्री समाज निर्माणतर्फ ठोस पहल

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, फागुन ०३, २०८२
महिनावारी विभेद अन्त्यको अभियान : बुढीगंगामा ‘गरिमा परियोजना’ लागू, मर्यादित महिनावारीमैत्री समाज निर्माणतर्फ ठोस पहल

बाजुरा ः महिनावारीका नाममा हुने सामाजिक विभेद र कुप्रथालाई पूर्ण रूपमा अन्त्य गरी मर्यादित, सुरक्षित र सम्मानजनक महिनावारी सुनिश्चित गर्ने उद्देश्यका साथ बाजुराको बुढीगंगा नगरपालिका मा ‘गरिमा परियोजना’ औपचारिक रूपमा लागू गरिएको छ ।

करुणा जर्मनी र जर्मन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा ग्रिनतारा नेपाल र रीड नेपाल को संयुक्त आयोजनामा सञ्चालित उक्त परियोजनाले नगरपालिकाका १० वटै वडालाई समेट्दै पाँच वर्षसम्म विभिन्न सचेतनामूलक तथा व्यवहार परिवर्तनका कार्यक्रम सञ्चालन गर्नेछ ।

सरोकारवाला माझ मर्यादित महिनावारी सचेतना

नगर तथा वडास्तरका जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूहका पदाधिकारी, स्वास्थ्यकर्मी, शिक्षक, विद्यार्थी तथा समुदायका अगुवाहरूको सहभागितामा मर्यादित महिनावारी सचेतना कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रममा महिनावारीको वैज्ञानिक पक्ष, यसको महत्व र आवश्यकता, महिनावारी विभेद विरुद्धका संवैधानिक तथा कानुनी प्रावधान, राष्ट्रिय सभाबाट २०८१ चैत ८ गते पारित “मर्यादित महिनावारीका लागि महिनावारी विभेद अन्त्य सम्बन्धी संकल्प प्रस्ताव”, समाजमा प्रचलित भ्रम तथा विभेदका स्वररुपबारे स्थानीयलाई स्पष्ट जानकारी दिइएको थियो ।

सहजीकरण नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य शिवराज खत्री तथा जिल्ला शाखा बाजुराका उपाध्यक्ष रमित विकले गरेका थिए ।

“महिनावारीको रगत फोहोर हो” भन्ने भ्रम चिर्दै

कार्यक्रमका क्रममा समुदायमा अझै पनि महिनावारीको रगत “फोहोर र अशुद्ध” भन्ने गहिरो भ्रम रहेको पाइएको छ । तर सचेतना सत्रमा वैज्ञानिक तथ्य प्रस्तुत गर्दै महिनावारीको रगत स्वाभाविक जैविक प्रक्रिया अन्तर्गत आउने प्राकृतिक र स्वच्छ रगत भएको स्पष्ट पारिएको थियो ।

सहभागीहरुले पहिलो पटक

महिनावारी महिलाको प्राकृतिक जैविक प्रक्रिया भएको, छोरा मान्छेमा दाह्री–जुँगा आउनु र छोरी मान्छेमा महिनावारी हुनु समान जैविक विकास प्रक्रिया भएको, महिनावारीका कारण महिलालाई अलग राख्नु, विभेद गर्नु वा अपवित्र ठान्नु गलत भएको जस्ता तथ्य सुनेको प्रतिक्रिया दिएका थिए ।

स्थानीय अवस्था : केही सुधार, अझै चुनौती बाँकी

बुढीगंगा नगरपालिकामा महिनावारी हुँदा अलग गोठमा बस्ने चलन व्यापक नभए पनि केही स्थानमा दूध–दही लगायतका खानेकुरामा प्रतिबन्ध लगाउने परम्परा कायम रहेको पाइएको छ । यसले सामाजिक विभेद अझै पूर्ण रुपमा अन्त्य नभएको संकेत गर्दछ ।

परियोजनाको मुख्य उद्देश्य

परियोजनाकी व्यवहार परिवर्तन तथा सञ्चार अधिकृत पूजा गड्तौलाका अनुसार, पाँच वर्षे ‘गरिमा परियोजना’ का मुख्य उद्देश्यहरु रहेका छन् ।

महिनावारी विभेदको पूर्ण अन्त्य, सुरक्षित र स्वच्छ महिनावारी अभ्यास प्रवद्र्धन, यौन तथा प्रजनन स्वास्थ्यमा पहुँच विस्तार, किशोरीमैत्री विद्यालय वातावरण निर्माण, समुदायस्तरमा व्यवहार परिवर्तन गर्ने गरी परियोजना खप्तड छेडेदह गाउँपालिका, मेल्लेख गाउँपालिका र खप्तड छान्ना गाउँपालिकामा समेत लागू गरिएको फिल्ड संयोजक विक्रम जोशीले जानकारी दिएका छन् ।

विद्यालय र स्वास्थ्य संस्थामा विशेष कार्यक्रम

परियोजना अन्तर्गत स्वास्थ्य संस्थालाई आवश्यक स्वास्थ्य सामग्री सहयोग, विद्यालयमा शौचालय मर्मत तथा किशोरीमैत्री शौचालय प्रवर्द्धन, आमा समूहलाई सरसफाइ सामग्री वितरण, फोकल शिक्षकहरूलाई यौन तथा प्रजनन स्वास्थ्य तालिम, धामी-झाँक्रीहरुको अवलोकन भ्रमण तथा पुनर्ताजगी बैठक, समुदायस्तरमा महिनावारी विभेद न्यूनीकरण कार्यक्रम सञ्चालन जस्ता गतिविधि सञ्चालन गरिनेछन् ।

अब समय सचेत बन्ने

महिनावारी कुनै लाज, पाप वा अपवित्रता होइन, यो महिलाको स्वास्थ्य र अस्तित्वसँग जोडिएको प्राकृतिक प्रक्रिया हो । विभेद हटाएर सम्मानजनक व्यवहार गर्नु नै सभ्य समाजको पहिचान हो ।

बुढीगंगामा सुरु भएको यो अभियानले स्थानीय जनतामा सकारात्मक सोच विकास गर्दै मर्यादित महिनावारीमैत्री समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ ।

प्रतिक्रिया