बाजुरा ःदेशभर प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरू मतदाताको घरदैलोमा व्यस्त छन्। तर बाजुरामा एउटा यस्तो दृश्य देखिएको छ, जसले आम बाजुरालीको मन छोएको छ ।
नेकपा एमालेका तर्फबाट बाजुराबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार, एमाले केन्द्रीय कमिटी सदस्य लालबहादुर थापा अहिले गहिरो मातृशोकमा छन् । उहाँकी माता कलशी थापाको ८९ वर्षको उमेरमा गत माघ २४ गते निधन भएको हो ।
आमाको निधनपछि अहिले पनि उहाँ किरिया बसेकै अवस्थामा हुनुहुन्छ । तर मातृशोकको अपार पीडाबीच पनि लालबहादुर थापा घरमै सीमित भएका छैनन् । आँखा रसाएका, मन भारी भएका अवस्थामा पनि उहाँ बाजुराका गाउँ-गाउँ पुग्दै मतदाताको ढोका ढकढक्याइ रहनुभएको छ ।
आफ्ना दुःख-पीडा थाती राखेर “बाजुराको भविष्यका लागि” भनेर जनताको बीचमा उभिनु उहाँको त्याग र प्रतिबद्धताको ज्वलन्त उदाहरण बनेको छ । थापाले मतदातासँग भेट्दा बारम्बार एउटै कुरा दोहोर्याइ रहनुभएको छ ।
“आज आमा साथमा छैनन्, तर आमा जसरी नै बाजुरालाई माया गरेर सेवा गर्ने मेरो संकल्प अझ बलियो बनेको छ ।” उहाँको यो अवस्थाले बाजुराली जनतामा गहिरो भावनात्मक प्रभाव पारेको छ ।
धेरै मतदाताहरू भावुक हुँदै भन्छन्, “आमाको किरिया बस्दाबस्दै पनि जनताको लागि घरदैलोमा आउन सक्ने नेता साँचो अर्थमा बाजुराको छोरा हो ।
यस्तो पीडामा पनि जनतालाई नछोड्ने मान्छेलाई हामीले नछोड्नु हुँदैन ।” स्थानीय बुढापाका, आमा-समूह, युवा तथा सर्वसाधारण मतदाताहरूले मातृशोकमा रहेका थापालाई सहानुभूति मात्र होइन, मत मार्फत सम्मान गर्ने अठोट व्यक्त गरिरहेका छन् ।
“यो चुनाव जितेर उहाँले आमाको आत्मालाई शान्ति दिनुपर्छ” भन्ने आवाज गाउँ-बस्तीमा सुनिन थालेको छ । राजनीति केवल भाषण र वाचा मात्र होइन, कठिन घडीमा देखिने मानवीयता र त्याग पनि हो भन्ने सन्देश लालबहादुर थापाको यो यात्राले दिएको छ ।
मातृशोकको आँसु पुछ्दै पनि बाजुराको भविष्य बोकेर हिँडिरहेका थापाप्रति जनताको भरोसा र सहानुभूति दिनानुदिन बढ्दै गएको देखिन्छ ।
अब बाजुराली जनताका सामु एउटा भावनात्मक प्रश्न उभिएको छ । के मातृशोकको पीडामा पनि जनतालाई नछोड्ने छोरालाई बाजुराले मत मार्फत जिताएर सम्मान गर्नेछ ? फागुन २१ गतेको मतदानले त्यसको उत्तर दिनेछ ।





प्रतिक्रिया