गाैमुल खबर डटकम सोमबार २६, माघ २०८२ ०४:२४

मातृशोकमा पनि जनताको भरोसा बोकेरै : किरियामा बसेर उम्मेदवार थापाले सुनाए विकासका सपना

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, माघ २५, २०८२
मातृशोकमा पनि जनताको भरोसा बोकेरै : किरियामा बसेर उम्मेदवार थापाले सुनाए विकासका सपना

बाजुरा ः देशभर विभिन्न राजनीतिक दलका उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगेर आफू र आफ्नो पार्टीका पक्षमा मत मागिरहेका बेला बाजुरामा नेकपा एमालेका उम्मेदवार लाल बहादुर थापा भने गहिरो मातृशोकमा छन् । एमाले केन्द्रीय कमिटी सदस्यसमेत रहेका थापाकी आमा कलशी थापाको ८९ वर्षको उमेरमा निधन भएको छ ।

बुढीगंगा नगरपालिका-२ ताप्रास्थित आफ्नै निवासमा उहाँको निधन भएको हो। घरदैलो अभियानकै क्रममा आमाको स्वास्थ्य अवस्था जटिल भएको खबर पाएपछि उम्मेदवार थापा सबै कार्यक्रम स्थगित गर्दै तुरुन्तै घर फर्किएका थिए ।

‘त्यो बेला उम्मेदवारसहित जगन्नाथ गाउँपालिकामा घरदैलोमा थियौँ,’ प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य कृष्ण ओलीले भने, ‘घरमा आमाको अवस्था गम्भीर भएको थाहा पाएपछि उहाँ कार्यक्रम छाडेर जानुभयो, तर दुर्भाग्यवश आमाले संसार छोड्नुभयो ।’ हाल उम्मेदवार थापा किरियामा बसेका छन् ।

शोकमा डुबेको परिवारलाई सान्त्वना दिन घर पुग्ने स्थानीय, शुभेच्छुक र कार्यकर्ताहरुलाई उनी शान्त भावमा भेटिरहेका छन् । चुनावी प्रचारमा सक्रिय हुनुपर्ने यस संवेदनशील समयमा पनि थापा जनतासँगको सम्बन्धलाई बिर्सेका छैनन् ।

घरमै आएका भेटघाटमा उनी आफ्नो विगतको काम, भविष्यका योजना र बाजुराको विकासप्रतिको प्रतिबद्धता सुनाउँछन् । २०५४ सालमा जिल्ला विकास समिति बाजुराको सभापति र २०७४ सालमा प्रतिनिधि सभा सदस्य हुँदा थापाले गरेका विकास निर्माणका कामहरु आज पनि बाजुराबासीको मनमा ताजा छन् ।

यहीँ कारण शोकको बेला पनि उनीप्रति जनताको सद्भाव र भरोसा झनै प्रगाढ देखिएको छ । उम्मेदवार स्वयं घरदैलोमा जान नसके पनि एमाले केन्द्रीय सदस्य कर्णबहादुर थापा, सहदेव बोगटी, नरेशकुमार रोकाया तथा जिल्ला अध्यक्ष लालबहादुर ओली सहितको टोलीले अभियानलाई निरन्तरता दिएको छ ।

जगन्नाथ गाउँपालिकाबाट हिमाली गाउँपालिका पुगेको टोलीले आज हिमाली गाउँपालिका–धुलाचौरमा अगुवा नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम तय गरेको छ ।

मातृशोकको पीडाबीच पनि जनताको सेवा र विकासको सपना बोकेर अघि बढिरहेका थापाको अवस्थाले चुनावी माहोलमा मानवीय संवेदना र राजनीतिक प्रतिबद्धताको गहिरो सन्देश दिएको छ ।

प्रतिक्रिया