बाजुरा ःनेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य तथा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका उम्मेदवार लालबहादुर थापालाई मातृशोक परेको छ ।
एमाले बाजुरा जिल्ला इन्चार्ज समेत रहेका थापाकी आमा कलशी थापाको ८९ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
बुढीगंगा नगरपालिका-२ ताप्रास्थित आफ्नै निवासमा स्वास्थ्य अवस्था सामान्य रहँदारहँदै उहाँको एक्कासी निधन भएको हो ।
स्वर्गीय कलशी थापाको आज नै बुढीगंगा नदी ताप्रिसेरामा अन्तिम दाहसंस्कार गरिने जनाइएको छ । आफ्नो आमाको निधनले उम्मेदवार थापा गहिरो शोकमा रहेका छन् ।
निर्वाचनको चहलपहल चलिरहेको यस संवेदनशील समयमा आएको यो पारिवारिक पीडाले थापालाई मात्र होइन, उहाँलाई माया गर्ने समर्थक, कार्यकर्ता तथा आम जनतालाई समेत स्तब्ध बनाएको छ ।
यस दुःखद घडीमा जिल्लाबासी तथा शुभेच्छुकहरुले थापाप्रति गहिरो समवेदना व्यक्त गर्दै, मातृशोकको पीडामा पनि जनताको सेवाप्रतिको उहाँको योगदान र प्रतिबद्धतालाई स्मरण गर्दै ढाडस दिएका छन् ।
धेरैले दुःखमा साथ दिनु नै आमाको आत्मालाई साँचो श्रद्धाञ्जली हुने भन्दै जनमत मार्फत सम्मान जनाउने भावना समेत व्यक्त गरेका छन् । स्वर्गीय आमाप्रति श्रद्धाञ्जली अर्पण गर्दै, शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ ।
यसअघि उम्मेदवार थापाकी आमाले आफ्नो छोरालाई मतदान गरे मात्र आफ्नो निधन हुने बताउने गरेको आफन्तले बताएका छन् ।





प्रतिक्रिया