गाैमुल खबर डटकम बुधबार २१, माघ २०८२ ०६:५२

बाजुरा त्रिवेणीका मतदाता एमालेप्रति अडिग, ‘हल्ला होइन सूर्य रोज्छौँ’

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, माघ १९, २०८२
बाजुरा त्रिवेणीका मतदाता एमालेप्रति अडिग, ‘हल्ला होइन सूर्य रोज्छौँ’

बाजुरा : त्रिवेणी नगरपालिकाका मतदाता, अगुवा नेता तथा कार्यकर्ताले नेकपा एमालेका नेताहरुलाई ढुक्क रहन आग्रह गर्दै आफूहरू कुनै हावाहुरी, अफवाह वा क्षणिक प्रभावको पछि नलाग्ने स्पष्ट पारेका छन्।

उनीहरूले २०४८ सालदेखि बोकेको एमालेप्रतिको आस्थामा कुनै कमी नआएको दाबी गरेका छन्। स्थानीय अगुवा नेता जनक साउँदले सूर्य चिह्नमा मतदान गर्नु आफ्नो राजनीतिक प्रतिबद्धता भएको उल्लेख गर्दै भने, “एमाले भएर बाँच्नु र एमाले भएरै मर्न पाउँदा गर्व छ।

जति मत हामीसँग छन्, ती सबै एमालेकै पक्षमा जान्छन्।” उनले काँग्रेसबाट भएका विभिन्न दमन र दबाबका बाबजुद आफ्नो विचार र आस्थामा कुनै विचलन नआएको बताए। स्थानीय एमाले अगुवा बलबहादुर साउँदले नयाँ भनिएको ‘घण्टी’ पार्टीको आलोचना गर्दै त्यसले त्रिवेणीमा कुनै प्रभाव नपार्ने बताए।

“न विचार छ, न सिद्धान्त, न स्पष्ट एजेण्डा। हल्लाका भरमा राजनीति गर्ने शक्तिको पछि हामी लाग्दैनौँ,” उनले भने। देश र व्यवस्था विरुद्ध आउने शक्तिसँग मुकाबिला गर्न सक्ने सामर्थ्य एमालेसँग मात्रै रहेको उनको दाबी थियो।

स्थानीय नेता-कार्यकर्ताले प्रकाश शाहलाई अवसरवादीको आरोप समेत लगाए। मन्त्री भएका बेला ठूलो गफ गरे पनि विकासका वास्तविक काम एमाले बाहेक अन्यत्र केन्द्रित गरेको उनीहरुको आरोप छ।

“विकासको बजेट जे जति आएको छ, त्यो एमालेले चुनाव जितेपछि मात्रै आएको हो,” उनीहरूले भने। उनीहरूका अनुसार कर्णबहादुर थापा र लालबहादुर थापा सांसद तथा मन्त्री हुँदा त्रिवेणीमा सडक, पहुँच मार्ग लगायतका क्षेत्रमा उल्लेखनीय विकास भएको थियो।

त्रिवेणीमा निर्माण भएका अधिकांश सडक तथा ग्रामीण पहुँच मार्ग तेस्रो चरणको ग्रामीण पहुँच कार्यक्रम अन्तर्गत निर्माण भएको र त्यसमा लालबहादुर ओलीको अग्रसर भूमिका रहेको उनीहरूले बताए।

भेटघाट कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य कर्णबहादुर थापा, लालबहादुर थापा, सहदेव बोगटी, नरेश रोकाया, जिल्ला अध्यक्ष लालबहादुर ओली, उपाध्यक्ष जनक बोहरा लगायत नेता भरत थापा, मन्देवी ओली, रामबहादुर बानियाँ, हिक्मत थापा, देबु खाती, कल्पना साउँद र हंश सिंहको सहभागिता रहेको थियो। नेताहरु त्रिवेणी पुग्दा स्थानीय कार्यकर्तामा उत्साह देखिएको थियो।

सहभागीहरूले आगामी चुनाव शान्तिपूर्ण, सामाजिक सद्भाव कायम गर्दै सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन्। गएको चुनावमा फरक-फरक घटनाका कारण ज्यान गुमाएका चेतनदीप अयडी र सन्दीप अयडी जस्तो अवस्था दोहोरिन नदिन सबै पक्ष जिम्मेवार हुनुपर्ने उनीहरूको भनाइ छ।

प्रतिक्रिया