धनगढी ः नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले सुदूरपश्चिम प्रदेशमा १२ सिट जित्ने दाबी गरेका छन् । कैलाली-४ बाट प्रतिनिधि सभाका उम्मेदवार समेत रहेका भट्टले आइतबार अत्तरियामा क्षेत्रीय निर्वाचन सम्पर्क कार्यालय उद्घाटन गर्दै प्रदेशभरका १२ क्षेत्रमा एमालेले जित्ने दाबी गरेका हुन् ।
२१ फागुनमा हुने चुनावमा एमालेले सुदूरपश्चिममा क्लीन स्वीप गर्ने रणनीतिअनुसार चुनावी परिचालन गरेको भएपनि १२ सिट भने ढुक्कसँग विजयी हासिल गर्ने जिकिर गरे ।
कैलाली-४ मा आफ्नो प्रतिस्पर्धा नेपाली कांग्रेससँगै हुने समेत उनको भनाई रहेको थियो तर अन्य प्रतिस्पर्धीलाई पनि कमजोर ठान्न नहुनेमा स्पष्ट रहेको उल्लेख गरे ।
आफ्नो उम्मेदवारी कैलालीको लागि मात्र नभएर समग्र सुदूरपश्चिम र राष्ट्रकै निमित्त भएको समेत बताए । कार्यक्रममा समानुपातिकतर्फका प्रतिनिधिसभा सदस्य उम्मेदवार हरिशंकर योगी, नवनिर्वाचित राष्ट्रियसभा सदस्य लिला भण्डारी, सुदूरपश्चिम प्रदेशसभा सदस्य धर्मराज पाठक, सन्तोष शर्मा लगायत नेताहरूको सहभागिता थियो ।
क्षेत्रीय सम्पर्क कार्यालय सञ्चालनमा आएसँगै एमालेले संगठन विस्तार, मतदाता समन्वय र प्रचार–प्रसारलाई थप व्यवस्थित र प्रभावकारी बनाउने जनाएको छ । कैलाली-४ मा एमालेले प्रतिनिधिसभा उम्मेदवारका रूपमा भट्टलाई अघि सारेको छ ।
यसैबीच, केन्द्रीय सदस्य सन्तोष शर्माको संयोजकत्वमा मुख्य निर्वाचन परिचालन समिति गठन गरिएको छ । समितिको उपसचिवमा भागिरथी बिष्ट र सचिवमा गणेश साउँद चयन भएका छन् ।






प्रतिक्रिया