बाजुरा ः नेकपा (एमाले) बाजुराले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आफ्नो सशक्त र निर्णायक चुनावी अभियानको दोस्रो दिन खप्तड छेडेदह गाउँपालिकामा भव्य कार्यक्रमको आयोजना गरिएकाे छ ।
कार्यक्रममा स्थानीय जनताको उत्साहजनक सहभागिताले बाजुरा जिल्लामा एमालेको पक्षमा बलियो जनमत तयार भइसकेको स्पष्ट संकेत देखाएको छ । एमालेका तर्फबाट लालबहादुर थापा प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका छन् ।
लामो समयदेखि पार्टी र जनताको हितमा निरन्तर संघर्ष गर्दै आएका थापाले इमानदार, अनुभवी र विकासमुखी नेताको छवि निर्माण गरेका छन् ।
चुनावी सभालाई सम्बोधन गर्दै नेकपा (एमाले) केन्द्रीय सदस्य तथा पूर्व उद्योगमन्त्री कर्णबहादुर थापाले नेताभित्र विभाजन भएको भनेर फैलाइएका हल्ला पूर्ण रूपमा निराधार भएको बताएका छन् ।
उनले भने, “एमाले एकताबद्ध छ, मजबुत छ र बाजुराको विकासका लागि प्रतिबद्ध छ । हल्लाको पछि नलागी फागुन २१ गते सूर्य चिन्हमा मतदान गरेर विकासको यात्रालाई निरन्तरता दिनुहोस् ।”
केन्द्रीय सदस्य सहदेव बोगटीले एमाले माथि जनताको भरोसा अझ बलियो बन्दै गएको उल्लेख गर्दै भने, “बाजुरामा सडक, शिक्षा, स्वास्थ्य, विद्युत र खानेपानी जस्ता आधारभूत विकास एमाले नेतृत्वकै पालामा सम्भव भएको हो ।एमाले भनेको नारा होइन, काम गरेर देखाउने पार्टी हो ।”
त्यस्तै, केन्द्रीय सदस्य नरेशकुमार रोकायाले कार्यकर्ता तथा जनतालाई आ-आफ्नो स्थानबाट सक्रिय भूमिका खेल्न आग्रह गर्दै भने, “स्थिरता, सुशासन र समृद्धिको आधार एमाले हो । बाजुराका जनताले फेरि पनि सही निर्णय गर्नेमा हामी विश्वस्त छौं ।”
कार्यक्रममा पार्टी जिल्ला अध्यक्ष लालबहादुर ओलीले विगतमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले ग्रामीण सडक सञ्जाल विस्तार, दुर्गम बस्तीमा विद्युत र खानेपानीको पहुँच, विद्यालय तथा स्वास्थ्य संस्थाको स्तरोन्नति, कृषक र युवामुखी कार्यक्रम जस्ता ऐतिहासिक उपलब्धि हासिल गरेको स्मरण गराएका थिए ।
कार्यक्रममा सहभागी स्थानीय बासिन्दाहरूले स्थिरता, विकास र भरोसा योग्य नेतृत्वका लागि फेरि पनि एमाले नै आवश्यक भएको धारणा व्यक्त गरेका छन् । जनताको उत्साह र समर्थनले फागुन २१ गते हुने निर्वाचनमा बाजुराबाट एमालेको जित सुनिश्चित हुने संकेत दिएको नेताहरुको दाबी रहेको छ ।
एमाले नेतृत्वले आगामी दिनमा बाजुराको समग्र विकास, रोजगारी सिर्जना, युवाको भविष्य सुरक्षित गर्ने नीति तथा सुशासनलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै, फागुन २१ को निर्वाचन एमालेको पक्षमा निर्णायक हुने दाबी पुनः दोहोर्याएको छ ।






प्रतिक्रिया