बाजुरा ः नेकपा (एमाले) बाजुराले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आफ्नो सशक्त र निर्णायक चुनावी अभियान गौमुल गाउँपालिकाबाट औपचारिक रुपमा सुरु गरेको छ ।
ऐतिहासिक रूपमा एमालेको बलियो आधार क्षेत्र मानिने गौमुलबाट अभियानको थालनी हुनु आफैंमा एमालेको जनाधार, जनविश्वास र संगठनात्मक शक्तिको स्पष्ट सन्देश हो ।
अभियानमा एमाले केन्द्र, प्रदेश र जिल्ला तहका प्रभावशाली नेताहरु एकसाथ सहभागी भएका छन् । पार्टीका तर्फबाट लालबहादुर थापा प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका छन्, जसले लामो समयदेखि पार्टी र जनताको पक्षमा निरन्तर संघर्ष गर्दै आएको नेताको छवि बनाएका छन् ।
चुनावी सभालाई सम्बोधन गर्दै नेकपा (एमाले) केन्द्रीय सदस्य तथा पूर्व उद्योगमन्त्री कर्णबहादुर थापा, केन्द्रीय सदस्य सहदेव बोगटी, नरेशकुमार रोकाया लगायतका नेताहरूले गौमुल गाउँपालिका एमालेको ‘लालकिल्ला’ मात्र नभई पार्टीको राजनीतिक पुँजी भएको उल्लेख गरेका छन् ।
उनीहरूले हरेक निर्वाचनमा गौमुलका जनताले एमालेप्रति देखाउँदै आएको विश्वास र न्यायपूर्ण मतले पार्टीलाई थप जिम्मेवार बनाएको बताएका छन् ।
नेताहरुले विगतमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले बाजुराको विकासमा खेलेको ऐतिहासिक भूमिका स्मरण गराउँदै ग्रामीण सडक सञ्जाल विस्तार, दुर्गम बस्तीमा विद्युत र खानेपानीको पहुँच, विद्यालय र स्वास्थ्य संस्थाको स्तरोन्नति, कृषक तथा युवामुखी कार्यक्रमहरू एमाले नेतृत्वकै पालामा सम्भव भएका ठोस उपलब्धिहरू हुन् ।
यी कार्यहरुले एमाले केवल नारा होइन, काम गरेर देखाउने पार्टी भएको प्रमाणित गरेको उनीहरूको भनाइ थियो । कार्यक्रममा स्थानीय जनताको उल्लेखनीय सहभागिताले फागुन २१ गतेको निर्वाचनमा बाजुरा जिल्लाबाट एमालेको पक्षमा स्पष्ट जनलहर देखिएको संकेत गरेको छ । जनताले स्थिरता, विकास र भरोसा योग्य नेतृत्वका लागि फेरि पनि एमाले रोज्ने दृढता व्यक्त गरेका छन् ।
एमाले नेतृत्वले आगामी दिनमा बाजुराको समग्र विकास, रोजगारी सिर्जना, युवाको भविष्य सुरक्षित गर्ने नीति र सुशासन लाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाउँदै, फागुन २१ को निर्वाचन एमालेको पक्षमा निर्णायक हुने दाबी दोहोर्याएको छ ।





प्रतिक्रिया