गाैमुल खबर डटकम बिहीबार २९, माघ २०८२ ०७:१४

घट्मुना नदीमा पक्की पुल कहिले ? जनताको धैर्यको सीमा नाघ्दै, अध्यक्ष रोकायाको कडा चेतावनी, काम सुरु नभए कार्यालयमै तालाबन्दी

बाजुरा
रमित वि.क.
आइतबार, माघ ११, २०८२
घट्मुना नदीमा पक्की पुल कहिले ? जनताको धैर्यको सीमा नाघ्दै, अध्यक्ष रोकायाको कडा चेतावनी, काम सुरु नभए कार्यालयमै तालाबन्दी

बाजुरा ःगौमुल गाउँपालिकाको केन्द्र घट्मुना नदीमा निर्माण हुनुपर्ने पक्की पुल वर्षौंदेखि अलपत्र परेपछि गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

२०७८ सालमै निर्माण गर्ने गरी सम्झौता भएको भएपनि हालसम्म निर्माण कम्पनीले काम सुरु नगर्दा स्थानीय बासिन्दा सास्ती भोग्न बाध्य भएका छन् ।

अध्यक्ष रोकायाका अनुसार निर्माण कम्पनीलाई पटक-पटक काम सुरु गर्न आग्रह गरिँदा समेत बेवास्ता हुँदै आएको छ ।

निर्माण प्रक्रिया अघि बढाउन स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय सुदूरपश्चिम प्रदेश धनगढी र निर्माण कम्पनीलाई लिखित तथा मौखिक रूपमा अनुरोध गरिए पनि हालसम्म कुनै ठोस प्रगति हुन सकेको छैन् ।

यसै सन्दर्भमा अध्यक्ष रोकाया स्वयं आइतबार स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय सुदूरपश्चिम प्रदेश, धनगढी पुगेर कार्यालय प्रमुखसँग भेटघाट गर्दै निर्माण कार्यमा भइरहेको ढिलासुस्ती प्रति कडा असन्तुष्टि जनाएका छन् ।

कार्यालय प्रमुखको कार्यकक्षमै पुगेर अध्यक्ष रोकायाले “जनता आक्रोशित छन्, गाली हामीलाई पर्छ, तर जिम्मेवार निकाय मौन छ,” भन्दै जनताको पीडा सुनाएका छन् ।

अध्यक्ष रोकायाले निर्माण कार्यमा किन यति धेरै बेवास्ता गरिएको हो भन्ने प्रश्न गर्दै कार्यालयका तर्फबाट तत्काल तदारुकता देखाउन माग गरेका छन् ।

उनले स्पष्ट शब्दमा चेतावनी दिँदै भने, “यदि घट्मुना नदीमा दश दिनभित्र निर्माण कम्पनीले पक्की पुल निर्माण प्रक्रिया तुरुन्त सुरु गरेन भने स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय सुदूरपश्चिम प्रदेश, धनगढीमै तालाबन्दी गर्न आफु बाध्य हुनेछु ।”

कार्यालय प्रमुख टंकप्रसाद खनालले भने निर्माण कम्पनीलाई पटक-पटक काम सुरु गर्न ताकेता गरिएको प्रतिक्रिया दिएका छन् । तर जनताको प्रश्न अझै अनुत्तरित छ सम्झौता भएको चार वर्ष बितिसक्दा पनि पुल किन बनेन ?

घट्मुना नदीमा पक्की पुल नहुँदा वर्षायाममा आवत-जावत पूर्ण रुपमा अवरुद्ध हुने, बिरामी बोक्न समस्या हुने र विद्यार्थी तथा सर्वसाधारणले दैनिक जोखिम मोल्नुपर्ने अवस्था रहेको छ । अब जनताले आश्वासन होइन, काम सुरु भएको देख्न चाहेको अध्यक्ष रोकायाको भनाइ छ ।
 

प्रतिक्रिया