बाजुरा ः विगतका निर्वाचनका क्रममा बदनाम बन्दै आएको बाजुराको राजनीतिक परिचय परिवर्तन गर्ने उद्देश्यसहित राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरू स्वस्थ प्रतिस्पर्धा, स्वतन्त्र मतदान र शान्तिपूर्ण निर्वाचन वातावरण निर्माणमा सहमत भएका छन् ।
बाजुराबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनेका सात राजनीतिक दल र एक स्वतन्त्र उम्मेदवार गरी कुल आठ जनाले फागुन २१ गते हुने निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र पारदर्शी बनाउने साझा प्रतिबद्धता जनाएका हुन् ।
नेपाल पत्रकार महासंघ बाजुराको आयोजनामा सम्पन्न पत्रकार सम्मेलन मार्फत उम्मेदवारहरुले नौ बुँदे संयुक्त प्रतिबद्धता पत्र सार्वजनिक गर्दै बाजुराका सबै मतदान केन्द्रमा शान्तिपूर्ण र भयमुक्त मतदान सुनिश्चित गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
प्रचार–प्रसारलाई मर्यादित, शिष्ट र अहिंसात्मक बनाउँदै एक-अर्काको सम्मान गर्ने सहमति पनि जनाइएको छ । प्रतिबद्धता पत्र नेकपा एमाले बाजुराका अध्यक्ष लालबहादुर ओलीले प्रस्तुत गरेका थिए । एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार लालबहादुर थापाको अगुवाइमा सबै उम्मेदवारबीच सामूहिक छलफलपछि सहमति जुटेको हो ।
बाजुराबाट प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसबाट जनक गिरी, नेकपा एमालेबाट लालबहादुर थापा, नेपाल कम्युनिष्ट पार्टीबाट प्रकाश शाह, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हेमराज थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट केशरबहादुर शाही, नेकपा माओवादी केन्द्रबाट भूपेन्द्र वि.क., प्रगतिशील लोकतान्त्रिक पार्टीबाट दीपक डिसी र स्वतन्त्र उम्मेदवार उपेन्द्र शाही उम्मेदवार रहेका छन् ।
आठै जनाले संयुक्त प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका हुन् ।संयुक्त प्रतिबद्धतामार्फत उम्मेदवारहरूले निर्वाचन प्रक्रियामा कुनै पनि प्रकारको धाँधली, घुसपैठ वा अनियमितता भएमा सामूहिक रूपमा अस्वीकार गर्ने, उत्पन्न हुने विवादहरू आपसी संवादमार्फत समाधान गर्ने र निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्ने स्पष्ट अडान व्यक्त गरेका छन् ।
यस्तै उम्मेदवारको व्यक्तिगत जीवनमाथि टीकाटिप्पणी नगर्ने, व्यक्ति, समूह वा समुदायबीच द्वन्द्व उत्पन्न हुने गतिविधि नगर्ने तथा नगराउन आम मतदाता र जनसमुदायमा अनुरोध गरिएको छ । सामाजिक शान्ति, सद्भाव, समानता र सुशासनका लागि साझा प्रयास गर्ने प्रतिबद्धता पनि जनाइएको छ ।
एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको बाजुरामा गरिएको यो सामूहिक प्रतिबद्धतालाई उम्मेदवारहरूले जिल्लामात्र नभई देशकै लागि उदाहरणीय राजनीतिक अभ्यासको रूपमा व्याख्या गरेका छन् ।
यसको पूर्ण कार्यान्वयनका लागि सम्बन्धित राजनीतिक दलहरूको समेत समर्थन रहेको जनाइएको छ । उम्मेदवारहरूले सबैलाई नैतिक जिम्मेवारी र जवाफदेहिता बहन गर्न आग्रह गरेका छन् ।
नेपाल पत्रकार महासंघ बाजुराका सचिव प्रेम रौलेको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा सबै उम्मेदवार, विभिन्न राजनीतिक दलका प्रतिनिधि, बडीमालिका नगरपालिकाका नगर प्रमुख अमरबहादुर खड्का, पत्रकार तथा सरोकारवालाको सहभागिता रहेको थियो ।
बडीमालिका नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ बाजुराका सह-सचिव जनक बोहराले गरेका थिए ।






प्रतिक्रिया