बाजुरा ः आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै जिल्ला सदरमुकाम मार्तडीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आज एक कार्यक्रमका बीच मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले उक्त कार्यालयको समुद्घाटन गर्नुभएको हो ।
जिल्ला निर्वाचन कार्यालय बाजुराका निर्वाचन अधिकारी भीमबहादुर शाहीका अनुसार बाजुरामा एक मात्र निर्वाचन क्षेत्र रहेकाले सदरमुकाम मार्तडीस्थित कृषि ज्ञान केन्द्रको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचनसम्बन्धी कार्य सञ्चालन सुरु गरिएको छ ।
कार्यालय उद्घाटनपछि पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै मुख्य निर्वाचन अधिकृत पोखरेलले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन जिल्लास्थित राजनीतिक दल, कर्मचारी, जनप्रतिनिधि तथा पत्रकारहरूको महत्वपूर्ण भूमिका रहने बताएका छन् ।
मतदान केन्द्र कब्जा गर्ने प्रवृत्तिबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा उहाँले विगतका अनुभवलाई मध्यनजर गर्दै यस्ता गतिविधि हुन नदिने गरी आवश्यक कदम चालिने स्पष्ट पारेका छन् ।
उद्घाटन समारोहमा बोल्दै प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जिल्लाका अति संवेदनशील, संवेदनशील तथा सामान्य अवस्थाका मतदान केन्द्रहरूको अवस्थाको मूल्यांकन गरी सुरक्षाको व्यवस्थापन गरिने प्रतिक्रिया दिएका छन् ।
जिल्लामा विगतमा निर्वाचनको साख गुमेको उल्लेख गर्दै यसपटक स्वच्छ, शान्तिपूर्ण र मर्यादित निर्वाचन सम्पन्न गर्न सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गरेका छन् । प्रमुख जिल्ला अधिकारी निरौलाका अनुसार निर्वाचनको अवस्थालाई ध्यानमा राखी सुरक्षा संयन्त्रलाई विशेष रूपमा परिचालन गरिनेछ ।
पछिल्ला दुई महिनादेखि जिल्लामा कुनै अपराधिक घटना नभएको र शान्ति-सुरक्षाको अवस्था सामान्य रहेकाले निर्वाचन निष्पक्ष, शान्तिपूर्ण र धाँधली रहित वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना तथा उद्घाटन कार्यक्रममा मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेल, प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला, जिल्ला निर्वाचन अधिकारी भीमबहादुर शाही, सुरक्षा निकायका प्रमुख तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।






प्रतिक्रिया