बाजुरा ःजिल्ला प्रशासन कार्यालय बाजुराले २०८२ साल माघ १५ गतेभित्र जिल्लाभित्र रहेका सबै किसिमका हातहतियार तथा खरखजना अनिवार्य रूपमा बुझाउन निर्देशन दिएको छ ।
मंगलबार एक सूचना जारी गर्दै इजाजत प्राप्त वा इजाजत नलिई व्यक्तिगत रूपमा राखिएका भरुवा बन्दुक सहितका हातहतियार जिल्ला प्रहरी कार्यालय बाजुरा वा नजिकको प्रहरी इकाइमा बुझाउन आग्रह गरेको हो ।
आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भरपर्दो र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले यो निर्देशन जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार तोकिएको म्यादभित्र हातहतियार तथा खरखजना नबुझाएमा प्रचलित कानुन अनुसार कारबाही गरिनेछ ।
निर्वाचनका बेला हातहतियारका कारण उत्पन्न हुन सक्ने सम्भावित जोखिम, डरत्रास र अशान्ति न्यूनीकरण गर्दै जिल्लामा शान्ति-सुरक्षा कायम राख्न यो कदम चालिएको प्रशासनको भनाइ छ ।
साथै, निर्वाचनलाई मर्यादित, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न सबै पक्षको सक्रिय सहभागिता र सहयोग आवश्यक रहेको भन्दै प्रशासनले सबैमा अपिल गरेको छ ।






प्रतिक्रिया