गाैमुल खबर डटकम बिहीबार ०१, माघ २०८२ ०७:१७

बाजुराको स्वास्थ्य सेवामा ऐतिहासिक फड्को : जिल्ला अस्पतालमा माइक्रोबायोलोजी ल्याब सेवा सुरु

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, पुष २८, २०८२
बाजुराको स्वास्थ्य सेवामा ऐतिहासिक फड्को : जिल्ला अस्पतालमा माइक्रोबायोलोजी ल्याब सेवा सुरु

बाजुरा ःबाजुरा जिल्लाको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको छ । जिल्लामै पहिलो पटक माइक्रोबायोलोजी ल्याब सेवा सञ्चालनमा आएको छ ।

जिल्ला अस्पताल मार्तडीमा उक्त सेवा सुरु भएसँगै अब संक्रामक रोगहरूको पहिचान तथा ‘कल्चर’ परीक्षणका लागि बिरामीहरूले जिल्ला बाहिर जानुपर्ने बाध्यता अन्त्य भएको छ ।

अस्पतालका प्रमुख डा.चन्द्रशेखर यादवका अनुसार माइक्रोबायोलोजी ल्याब सञ्चालनमा आएसँगै विभिन्न जटिल संक्रामक रोगहरूको समयमै पहिचान गर्न सकिनेछ, जसले उपचारलाई थप प्रभावकारी, वैज्ञानिक र भरोसा योग्य बनाउनेछ ।

यसबाट बिरामीको समय, खर्च र जोखिम उल्लेखनीय रुपमा घट्ने विश्वास गरिएको छ । यसअघि सामान्य कल्चर परीक्षणका लागि समेत बाजुराका बिरामीहरू धनगढी, नेपालगञ्ज वा काठमाडौंसम्म जान बाध्य रहेको थियो ।

दुर्गम भौगोलिक अवस्था, आर्थिक भार र समयको अभावका कारण धेरै बिरामीहरू उपचारबाट बञ्चित हुने अवस्था थियो । अब आफ्नै जिल्लामा सेवा उपलब्ध भएपछि स्थानीय बासिन्दाले ठूलो राहत महसुस गरेका छन् ।

अस्पतालका सूचना अधिकारी नृपराज गिरीले माइक्रोबायोलोजी ल्याबको स्थापनाले बाजुराका नागरिकलाई मात्र नभई छिमेकी जिल्लाहरू हुम्ला, मुगु र कालीकोटबाट उपचारका लागि आउने बिरामीहरूलाई समेत प्रत्यक्ष लाभ पुग्ने बताएका छन् ।

यसले जिल्ला अस्पताललाई क्षेत्रीय स्वास्थ्य केन्द्रको रूपमा स्थापित गर्न सहयोग पुग्ने उनको भनाइ रहेको छ । पछिल्लो समय जिल्ला अस्पताल बाजुराले स्वास्थ्य सेवाको गुणस्तर सुधार, प्रविधिमैत्री सेवा विस्तार तथा दक्ष जनशक्ति व्यवस्थापनमा जोड दिँदै आएको छ ।

यी सुधारहरुसँगै टाढा–टाढाबाट समेत बिरामीहरू उपचारका लागि यहाँ आउने क्रम बढ्दै गएको छ । माइक्रोबायोलोजी ल्याब सेवा सञ्चालनले सुदूरपश्चिम र कर्णाली क्षेत्रको स्वास्थ्य सेवामा नयाँ आशा र भरोसा थपेको स्थानीयको भनाइ रहेको छ ।

प्रतिक्रिया