बाजुरा ः नेकपा (एमाले) जिल्ला कमिटी बाजुराका सदस्य अमर विकले दलित समुदायका सक्षम र योग्य व्यक्तिलाई पार्टीको उच्च नेतृत्व तथा राज्यको उपल्लो तहको जिम्मेवारी दिन कुनै पनि प्रकारको हिचकिचावट गर्न नहुने स्पष्ट धारणा राखेका छन् ।
उत्पीडित जातीय मुक्ति समाज गौमुल गाउँ कमिटीको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै नेता विकले दलित समुदाय अब नेतृत्वका लागि तयार भइसकेको उल्लेख गर्दै अब अवसर दिने कि नदिने प्रश्न मात्रै बाँकी रहेको बताएका छन् ।
उनले नेकपा एमाले जस्तो जनआधारित र परिवर्तनमुखी पार्टीले दलित नेतृत्वलाई अगाडी बढाउन अब ढिला गर्न नहुनेमा जोड दिएका छन् ।
दलित समुदाय गाउँदेखि केन्द्रसम्म संगठित, सचेत र एकताबद्ध हुनुपर्ने आवश्यकता औंल्याउँदै उनले दलित आन्दोलनलाई अब भाषणमा होइन, व्यवहार र नेतृत्वमा रुपान्तरण गर्नुपर्ने बताएका छन् ।
दलित समुदायका भूमिका, जिम्मेवारी र कर्तव्यहरुलाई अझ क्रान्तिकारी बनाउँदै सोच, काम र तत्परतामा परिवर्तन ल्याउन सकेमा समाज र राज्य व्यवस्था परिवर्तन हुने उनको विश्वास थियो ।
नेता विकले पछिल्लो समय सामाजिक सञ्जालमा देशको चिन्ता लिएको जस्तो देखाउने प्रवृत्तिप्रति टिप्पणी गर्दै केवल सामाजिक सञ्जालबाट मात्र देश नबन्ने स्पष्ट पारेका छन् ।
वास्तविक परिवर्तन जनताबीच गएर संगठन निर्माण, नेतृत्व विकास र जिम्मेवारी बहनबाट मात्रै सम्भव हुने उनको भनाइ थियो ।
अधिवेशनले दलित समुदायको नेतृत्व विकास, आत्मसम्मान र समान अधिकार सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ भने नेकपा एमाले दलित मुक्तिको भरोसा योग्य राजनीतिक शक्ति भएको सन्देश पनि प्रवाहित भएको छ ।





प्रतिक्रिया