बाजुरा ः नेकपा (एमाले) जिल्ला कमिटी बाजुराका सचिव काँशी विकले वैज्ञानिक युगमा समेत दलित समुदाय माथि हुने कुनै पनि प्रकारका अन्याय, विभेद र उत्पीडनलाई सहेर नबस्ने स्पष्ट प्रतिवद्धता व्यक्त गरेका छन् ।
उत्पीडित जातीय मुक्ति समाज गौमुल गाउँ कमिटीको दोस्रो अधिवेशनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै सचिव विकले दलित समुदाय ऐतिहासिक रुपमा सीप, श्रम र प्रविधिका आधार स्तम्भ भएको उल्लेख गरेका छन् ।
विश्वमा विज्ञान र प्रविधिको विकास हुनुअघि नै इन्जिनियरिङ् ज्ञान र सीप दलित समुदायसँग रहेको भएपनि समाजले कामका आधारमा वर्गीकरण गरी दलित माथि अन्याय र विभेद थोपरेको उनको भनाइ थियो ।
उनले सामाजिक, सांस्कृतिक र धार्मिक दृष्टिकोणबाट दलित समुदायलाई हेर्ने सोचमा केही सकारात्मक परिवर्तन आएपनि अझै पनि समाजमा केही अवशेषहरुमा छुवाछुत र विभेदको मानसिकता बाँकी रहेको बताएका छन् ।
यस्तो विभेद अन्त्यका लागि राज्य, राजनीतिक दल र समाज सबै एकजुट भएर लाग्नुपर्नेमा उनले जोड दिएका छन् । सचिव विकले नेकपा एमाले दलित समुदायको हक, अधिकार, सम्मान र समावेशी विकासको पक्षमा सधैं अग्रपंक्तिमा उभिँदै आएको पार्टी भएको उल्लेख गर्दै दलित मुक्तिका लागि एमालेको नीति, विचार र कार्यक्रम व्यवहारमै लागू भइरहेको बताए ।
दलित समुदायलाई शिक्षा, रोजगारी, नेतृत्व र राज्यका सबै तहमा समान पहुँच दिलाउन एमाले निरन्तर संघर्षरत रहेको उनको भनाइ थियो । अधिवेशनले दलित समुदायको आत्मसम्मान, सामाजिक न्याय र समानतामा आधारित समृद्ध समाज निर्माणतर्फ महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरिएको छ ।





प्रतिक्रिया