बाजुरा ःजिल्ला अदालत बाजुराका न्यायधीश सञ्जीव पोखरेलले गौमुल गाउँपालिकाको न्यायिक समितिको कार्यसम्पादनको उच्च प्रशंसा गरेका छन् ।
बुधबार गाउँपालिकाको केन्द्र घट्मुनामा रहेको न्यायिक समितिको निरीक्षण तथा अनुगमनका क्रममा संक्षिप्त कुराकानी गर्दै न्यायधीश पोखरेलले यस्तो बताएका हुन् ।
उनले बाजुरा जिल्लाका ९ वटा स्थानीय तहमध्ये गौमुल गाउँपालिकाको न्यायिक समिति न्यायिक निरूपण, मुद्दा फछ्र्योट, अभिलेख व्यवस्थापन तथा कार्यालय सञ्चालनका हिसाबले नमूनाका रूपमा स्थापित हुँदै गएको बताएका छन् ।
न्यायिक समितिले छिटो, सरल र पारदर्शी ढंगले विवाद समाधान गर्दै आएको भन्दै यसले स्थानीयस्तरमै न्याय सुनिश्चित गर्न ठूलो योगदान पुर्याएको उनको भनाइ थियो ।
न्यायधीश पोखरेलले न्यायिक समिति जनताको नजिकको अदालतका रूपमा रहेकाले सेवाग्राहीहरूले घरदैलोमै न्याय पाएको अनुभूति गरिरहेको उल्लेख गरे ।
जिल्ला अदालतसम्म पुग्न आर्थिक, भौगोलिक तथा सामाजिक कारणले असहज हुने कमजोर वर्ग, महिला, ज्येष्ठ नागरिक तथा विपन्न समुदायका नागरिकका लागि न्यायिक समिति अत्यन्त प्रभावकारी माध्यम बनेको उनले बताएका छन् ।
न्यायिक समितिको क्षेत्राधिकारभित्र पर्ने घरेलु विवाद, लेनदेन, सानातिना झगडा तथा सामाजिक विवादहरू स्थानीयस्तरमै समाधान हुँदा समय, खर्च र झन्झट कम भएको पनि उनले बताए ।
साथै स्थानीय सरकारका न्यायिक समितिहरूले वडाका प्रत्येक टोलमा न्यायिक प्रक्रिया, अधिकार र कर्तव्य सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।
न्यायिक समितिका पदाधिकारी तथा कर्मचारीलाई कानुनी ज्ञान, मध्यस्थता सीप र अभिलेख व्यवस्थापनमा थप दक्ष बनाउन तालिम र क्षमता अभिवृद्धि कार्यक्रम आवश्यक रहेको उल्लेख गर्दै उनले भविष्यमा पनि न्यायिक समितिले निष्पक्षता, इमान्दारिता र संवेदनशीलताका साथ कार्य गर्नुपर्ने सुझाव दिएका छन् ।
न्यायधीश पोखरेलले गौमुल गाउँपालिकाको न्यायिक समितिले हालसम्म देखाएको सक्रियता र जिम्मेवारीले स्थानीय न्याय प्रणालीलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् ।
निरीक्षण तथा अनुगमनमा स्रेस्तेदार शंकर प्रसाद अधिकारी, तहसिलदार शाखा अधिकृत भुवानी शंकर घिमिरे, सूचना प्रविधि अधिकृत योगेन्द्र रावल सहितको सहभागिता रहेको थियो ।
यता न्यायिक समिति संयोजक सीता थापा, सदस्य कलकबहादुर सिंह, प्रमुख प्रशासकीय अधिकृत जगदीश प्रसाद भट्ट, सविचालय सदस्य डम्बर रोकाया, रेडियो गौमुलका स्टेशन प्रबन्धक रमित विक लगायत उपस्थित भएका हुन् ।





प्रतिक्रिया