बाजुरा ः जिल्ला अस्पताल बाजुरामा हाडजोर्नी तथा नसा रोगसम्बन्धी विशेषज्ञ सेवा पुनः सुचारु भएको छ । हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर शिरीष श्रेष्ठको आगमनसँगै लामो समयदेखि अवरुद्ध सेवा पुनः सञ्चालनमा आएको हो ।
यसअघि २०८२ असोज महिनामा जिल्ला अस्पतालमा कार्यरत हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर रोशन भट्टराईको सरुवा भएपछि उक्त सेवा अवरुद्ध भएको थियो। करिब तीन महिनादेखि प्रभावित रहेको सेवा डाक्टर श्रेष्ठ आएपछि पुनः सुचारु भएको जिल्ला अस्पतालका जिल्ला अस्पतालका प्रमुख शेखर यादवले जानकारी दिएका छन् ।
उनका अनुसार डाक्टर भट्टराई गएपछि अस्पतालमा एमडीजीपी डाक्टर कार्यरत रहेकाले हाडजोर्नी तथा नसा रोगसम्बन्धी सेवा पूर्ण रूपमा बन्द नभए पनि अपेक्षित रूपमा प्रभावकारी हुन सकेको थिएन ।
डाक्टर श्रेष्ठको आगमनसँगै अब ढाड तथा कम्मर दुख्ने समस्या, घुँडा दुख्ने तथा सुन्निने समस्या, नसा च्यापिएको वा नसा कमजोर भएको अवस्था लगायतका रोगको विशेषज्ञ उपचार उपलब्ध हुने अस्पतालले जनाएको छ ।
त्यसैगरी, पैताला र पाता पोल्ने समस्या, जन्मजात हातखुट्टा बाङ्गो भएको उपचार, दुर्घटना वा प्लास्टरपछि देखिएका हड्डीसम्बन्धी जटिलता तथा सबै प्रकारका हाडजोर्नी र नसा रोगका बिरामीहरूलाई सहज सेवा प्रदान गरिनेछ ।
हाल जिल्ला अस्पताल बाजुरामा सुविधायुक्त भौतिक संरचना, एमडीजीपी डाक्टरसहित केही विशेषज्ञ चिकित्सक कार्यरत रहे पनि अझै आवश्यक विशेषज्ञ चिकित्सक, उपकरण तथा औषधिको अभाव रहेको अस्पतालले जनाएको छ ।
अस्पतालमा बाजुरा जिल्लाका साथै छिमेकी कालिकोट, मुगु, हुम्ला लगायतका जिल्लाबाट दैनिक डेढ सयभन्दा बढी बिरामी सेवा लिन आउने गरेका छन् ।
प्रतिक्रिया