बाजुरा ः विद्यार्थी राजनीतिबाट उदाएका नरेश रोकायाले एमालेको ११ औं महाधिवेशनमा युवा खुला केन्द्रीय सदस्य पदका लागि उम्मेद्वारी दिएको छ । बाजुरामा जन्मिएर गण्डकीलाई राजनीतिक कर्मभूमि बनाएका रोकायालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्राथमिकतामा राख्दै युवा खुला केन्द्रीय सदस्यमा अघि सारेका छन् ।
देशभरबाट मात्र दुई जनाको कोटा रहेको यो सूचीमा ओलीले उनलाई विश्वास गरेका हुन् । रोकायाले बाजुराका सर्वाधिक विकट गाउँका विद्यालयदेखि शहरका सुविधासम्पन्न कलेजसम्म पुगेर अनेरास्ववियुमा अध्ययन, सिकाइ र प्रशिक्षण दिएको बताउँछन् ।
सोही यात्राले अनेरास्ववियु केन्द्रीय महासचिवसम्म पुर्याएको उनी विश्वास गर्दछन् । केन्द्रीय राजनीतिमा उनको उपस्थितिले पार्टीको केन्द्रीय राजनीतिमा युवाको आवाज, अनुभूति र चाहना सशक्त रूपमा प्रवेश गर्ने विश्वास समर्थकहरूको छ । उनी उमेर हदका कारण अखिल अध्यक्ष नबनी संगठनबाट विदा हुनुपरेको थियो ।
पार्टी नेतृत्वले उमेर हद लगाएर सक्षम युवा नेतृत्वलाई रोक लगाएको आरोपसमेत त्यसबेला उठेको थियो ।नरेश रोकाया विद्यार्थी आन्दोलनका लागि मात्रै होइनन्, भोलिको पुस्ताका लागि आवश्यक राजनीतिक अनुहारका रुपमा चिनिन्छन् । नरेश जस्तो योग्य, सक्षम र वैचारिक स्पष्टता भएको युवा एमालेको मूलधार राजनीतिमा देखिनु पार्टी र पुस्ता दुवैका लागि गौरवको विषय हुने समर्थकहरू बताउँछन् ।





प्रतिक्रिया