बाजुरा ः नेकपा (एमाले) का केन्द्रीय सदस्य सहदेव बोगटीले पार्टीको आगामी महाधिवेशनका लागि ओली टिमबाट पुनः केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । सुदूरपश्चिम भूगोलबाट उम्मेदवारी दिएका बोगटी संगठनप्रति निष्ठा, स्पष्ट बोली र कार्यक्षमताका कारण पार्टीभित्र भरोसा योग्य नेताका रूपमा चिनिन्छन् ।
विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका बोगटी २०४६ सालदेखि निरन्तर राजनीतिमा सक्रिय छन् । लामो संघर्षपूर्ण यात्रामा उनले १० वर्षे जनयुद्धको कठिन काल पनि भोगेका छन् । जनयुद्धकै क्रममा उनले आफ्ना दुई आफन्त गुमाउनुपरेको थियो, जसले उनको राजनीतिक प्रतिबद्धता र वैचारिक दृढतालाई अझ मजबुत बनाएको नेताहरू बताउँछन् ।
नेकपा विभाजनपछि उत्पन्न जटिल परिस्थितिमा पनि बोगटी विचलित भएनन् । उनले केपी शर्मा ओलीको नेतृत्वमा अडान लिँदै नेकपा एमालेमै रहेर संगठन मजबुत बनाउने अभियानमा सक्रिय भूमिका निर्वाह गरे । यही योगदानको मूल्यांकनस्वरूप १०औँ राष्ट्रिय महाधिवेशन (सौराह) पछि उनी केन्द्रीय सदस्यमा मनोनित भएका हुन् ।
बाजुरा जिल्लाका स्थानीय बोगटी सुदूरपश्चिमको आवाज केन्द्रीय नेतृत्वसम्म पुर्याउने नेताका रूपमा हेरिन्छन् । उनले पार्टीभित्र संगठन विस्तार, कार्यकर्ता एकता र जनतासँगको सम्बन्ध सुदृढ गर्न निरन्तर खटिँदै आएका छन् ।
बोगटी ओली नेतृत्वको विकल्प नरहेको स्पष्ट धारणा राख्छन् । देश र जनताको हितका लागि आज पनि ओली नेतृत्वको बलियो एमाले आवश्यक रहेको उनको भनाइ छ । यही विश्वासका साथ उनले पुनः केन्द्रीय सदस्यका रूपमा पार्टी नेतृत्वमा योगदान दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
संघर्ष, त्याग र संगठनप्रतिको समर्पणले खारिएका सहदेव बोगटी सुदूरपश्चिमबाट मात्र होइन, समग्र पार्टीका लागि पनि भरोसायोग्य नेताका रूपमा अगाडि बढिरहेका छन् ।





प्रतिक्रिया