मुगु : परम्परागत रूपमा सीमित सुविधाबीच खेती गर्दै आएका सोरु गाउँपालिकाका कृषकका घरमै पुगेर स्थानीय व्यापारीहरूले यस वर्ष मात्र ६५ टन रैथाने बाली खरिद गरी देशका विभिन्न सहरमा निर्यात गरेका छन्। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन एकाइ मुगुको आर्थिक वर्ष ०८२/८३ मा स्वीकृत कार्यक्रमअनुसार रैथाने सिमी तथा अन्य रैथाने बालीवस्तु मुगुबाट नेपालगन्जसम्म ढुवानी गर्दा ५० प्रतिशत ढुवानी अनुदान उपलब्ध गराइएको थियो।
यही सहयोगका कारण व्यापारीहरू किसानका घर–घर पुगेर उत्पादन संकलन गरी यस वर्ष ६५ टन बाली देशका विभिन्न सहरमा निर्यात भएको हो। सोरु गाउँपालिका-१ का किसान नन्दबहादुर शाही भन्छन्, ‘पहिले बजारको झन्झटले उत्पादन घरमै थन्क्याउनुपर्ने बाध्यताका कारण किसानहरू खेती गर्न त्यति इच्छुक थिएनन्। तर गाउँसम्म सडक सञ्जाल विस्तार भएपछि व्यापारीहरू घरमै आएर खरिद गर्न थालेका छन्।
यसले रैथाने बालीको संरक्षण र उत्पादन दुवैमा उत्साह बढाएको छ।’ सोही वडाकी नन्दादेवी शाहीले यस वर्ष आफ्नै गाउँमा सिमी, चिनो, कागुनो, लट्टे र कोदो जस्ता रैथाने बाली व्यापारीहरूले घरमै पुगेर खरिद गरेको बताइन्। उनका अनुसार सोरु गाउँपालिका सिमी, कागुनो र चिनो उत्पादनका लागि उपयुक्त क्षेत्र हो।
‘पहिले बजार नहुँदा बाली खेर जान्थ्यो, तर अहिले व्यापारीले घरमै आएर मूल्य तिरिदिँदा रैथाने बाली आम्दानीको मुख्य स्रोत बन्दै गएको छ’, उनले बताइन्। स्थानीय व्यापारी टोपबहादुर शाहीका अनुसार मुगुबाट नेपालगन्जसम्म ढुवानीका लागि ५० प्रतिशत अनुदान पाएपछि हामी गाउँ-गाउँ पुगेर किसानको उत्पादन किन्न सक्षम भएका छौं। यसले किसानलाई राहत दियो र हाम्रो व्यवसाय पनि दिगो बन्दै गएको छ।’
उनका अनुसार मुगुको रैथाने सिमी, कोदो, चिनो, कागुनो, लट्टे जस्ता अन्नबालीको माग देशका धेरै सहरमा बढ्दै गएको छ। यहाँको बालीको गुणस्तर उच्च छ, रासायनिक मल कम प्रयोग हुन्छ, त्यसैले स्वास्थ्यप्रेमी उपभोक्ताको रोजाइ बनेका छन्। तर, मागअनुसार आपूर्ति पुर्याउन हामीले अझ मेहनत गर्नु पर्ने शाहीले बताए। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम मुगुका कार्यालय प्रमुख तेजविक्रम मल्लका अनुसार रैथाने बाली केवल उपज मात्र नभई यो हाम्रो जैविक सम्पदा हो।
व्यापारीले किसानका घरमै गई खरिद गर्न थालेपछि यसको संरक्षण पनि सहज बन्दै गएको छ। कार्यालय प्रमुख मल्लका अनुसार प्रतिकेजी ६ रुपैयाँका दरले व्यापारीले कार्यालयबाट पाउने ढुवानी अनुदानले उत्पादन, संकलन र बजार विस्तारमा उल्लेखनीय प्रभाव पारेको छ। आगामी वर्ष अझ बढी कृषकलाई समेटेर उत्पादन क्षेत्र विस्तार गर्ने योजना छ। केही वर्षअघिसम्म बजारको अभाव, ढुवानी समस्या र लगानी जोखिमका कारण रैथाने बाली खेती घट्ने क्रममा थियो।
तर, अहिले व्यापारीको सहज पहुँच र किसानको बढ्दो आत्मविश्वासले सोरु गाउँपालिकाभर रैथाने बाली खेतीप्रति आकर्षण बढेको गाउँपालिका उपाध्यक्ष केशरबहादुर शाहीले बताएका छन्। सोरु गाउँपालिकाको वातावरणमा उत्पादन हुने रैथाने बालीको स्वाद, गुणस्तर र पौष्टिकता उत्कृष्ट मानिन्छ।
यदि उत्पादनको ब्रान्डिङ, प्याकेजिङ र नियमित बजार वितरण प्रणाली स्थापित गर्न सके, किसानले वार्षिक करोडौंको व्यापार गर्न सक्ने कृषि व्यवसायीहरूको अनुमान छ। गाउँपालिका अध्यक्ष धर्मबहादुर शाही भन्छन्, ‘रैथाने बाली केवल परम्परा होइन, यो सोरु गाउँपालिकाको पहिचान र आर्थिक उन्नतिको आधार हो। ६५ टन निर्यात ठूलो नलागे पनि यसले किसानको मनमा नयाँ आशा रोपिदिएको बताए।


प्रतिक्रिया