बाजुरा ःगौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले स्थानीय खेलाडीलाई खेलकुद मार्फत पालिकाको प्रतिष्ठा जिल्लामै उजिल्याउन आग्रह गरेका छन् ।
पालिका स्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै उनले खेल क्षेत्र केवल प्रतिस्पर्धा मात्र नभई पहिचान, प्रतिष्ठा र सम्भावनाको माध्यम भएको उल्लेख गरेका छन् ।
अध्यक्ष रोकायाका अनुसार खेलकुदको विकास र विस्तारका लागि गाउँपालिकाले प्रत्येक वर्ष महत्वपूर्ण बजेट विनियोजन गर्दै आएको छ ।
सरकारी लगानीले मात्रै पर्याप्त नहुने भन्दै उनले अब उपलब्धि हासिल गर्ने जिम्मेवारी खेलाडीले कर्तव्य र अवसर दुवैका रूपमा बुझ्नुपर्ने बताएका छन् ।
सम्बोधनका क्रममा अध्यक्ष रोकायाले खेलसँगै शिक्षालाई पनि समान प्राथमिकता दिन खेलाडीहरूलाई अनुरोध गरका छन् ।
“राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा क्षमता देखाउन अध्ययन, अनुशासन र कठोर अभ्यास अपरिहार्य छ,” उनले भने, “अठोट, आत्मबल र आत्मविश्वासका साथ अघि बढे खेलाडीहरू सफलता हासिल गर्न सक्छन् ।”
गाउँपालिका स्तरमा आयोजना हुने प्रतियोगिताहरूलाई प्रतिभा पहिचानको पहिलो चरणका रूपमा वर्णन गर्दै अध्यक्ष रोकायाले जिल्ला र राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न समेत खेलाडीले विशेष चासो र तयारी बढाउनुपर्ने आवश्यकता औल्याएका छन् ।





प्रतिक्रिया