गाैमुल खबर डटकम सोमबार १५, मङि्सर २०८२ ०७:०२

लैङ्गिक हिंसा अन्त्यका लागि चेतनाको रुपान्तरण अत्यावश्यक : उपाध्यक्ष थापा

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, मङि्सर ०९, २०८२
लैङ्गिक हिंसा अन्त्यका लागि चेतनाको रुपान्तरण अत्यावश्यक : उपाध्यक्ष थापा

बाजुरा ः गौमुल गाउँपालिकाकी उपाध्यक्ष सीता थापाले २०८२ सालको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुभारम्भका अवसरमा समाजमा फैलिएको लैङ्गिक विभेद अन्त्य गर्न सबैभन्दा पहिला मानिसको सोच, मनोवृत्ति र व्यवहारमै परिवर्तन आवश्यक रहेको बताएकी छन् ।

उनका अनुसार, “लैङ्गिक हिंसा केवल महिला माथिको अत्याचार मात्र होइन, यो समग्र मानव मर्यादा र सामाजिक न्याय माथिको ठेस हो । त्यसैले महिला र पुरुष समान मानवीय क्षमताका धनी हुन् भन्ने तथ्य प्रत्येक व्यक्तिको चेतनामा गहिरोसँग स्थापित हुन जरुरी छ ।”

उपाध्यक्ष थापाले अपील गर्दै भनिन् “१६ दिने अभियानको सार्थकता तब मात्रै हुन्छ, जब हाम्रो मन र मस्तिष्कबाट ‘हिंसा कहिल्यै स्वीकार्य हुन सक्दैन’ भन्ने दृढ धारणा जागृत हुन्छ । समुदाय, परिवार र संस्थागत तह सबैले हिंसा नदोहोरिने वातावरण निर्माण गर्न अग्रसर हुनुपर्छ ।”

गाउँपालिकाले अभियानलाई विशेष रूपमा रुपमा मनाउँदै १६ दिनसम्म विविध जनचेतनामूलक, अन्तरक्रियात्मक, सांस्कृतिक तथा व्यवहार परिवर्तनमुखी कार्यक्रम गर्ने जानकारी दिदैँ उनले अभियान सफल बनाउन सबै पक्षको साथ, सहयोग र सहभागिता अपरिहार्य रहेको बताइन् ।

यस वर्षको अभियान २५ नोभेम्बरदेखि १० डिसेम्बर २०८२ सम्म चल्नेछ । सरकारी तथा गैरसरकारी निकाय, विद्यालय, स्वास्थ्य संस्था, महिला समूह, युवा क्लब र नागरिक समाजका विभिन्न संगठनहरूले हिंसा विरुद्धका संदेशमूलक गतिविधि देशभर सञ्चालन गरिरहेका छन् ।

१६ दिने अभियानको ऐतिहासिक पृष्ठभूमी स्मरण गर्दै थापाले विश्वभर यो दिवस मनाइनु भनेको महिला माथि गरिने हिंसा अन्त्यका लागि एकजुट अन्तर्राष्ट्रिय प्रतिबद्धताको प्रतीक भएको बताइन् ।

सन् १९६० मा डोमिनिकन रिपब्लिकमा तत्कालीन तानाशाह राफेल टुलिजाले महिला अधिकारका लागि लड्ने तीन मिराबल दिदीबहिनीको निर्मम हत्या गराएको घटनालाई आज पनि लैङ्गिक हिंसाको क्रूरताको प्रतीकका रुपमा लिइन्छ ।

यहीँ दिनको स्मरणमा विश्वले २५ नोभेम्बर लाई महिला हिंसा अन्त्य दिवसको रूपमा मनाउन थालेको इतिहास छ । सन् २००० फेब्रुअरी ७ मा संयुक्त राष्ट्र संघको महासभाले यस दिनलाई औपचारिक रूपमा अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस को मान्यता दिएको थियो ।

उपाध्यक्ष थापा भन्छिन् “२०८२ साललाई हिंसामुक्त वर्ष बनाउने लक्ष्यका साथ हामीले स्थानीय तहबाटै प्रतिबद्धता जनाउनुपर्छ । न्याय, समानता र मर्यादामा आधारित समाज निर्माण हाम्रो सामूहिक दायित्व हो ।”

आजको कार्यक्रममा गौमुल गाउँपालिका-४ का वडा अध्यक्ष अमर विक, प्रमुख प्रशासकीय अधिकृत जगदीश प्रसाद भट्ट, रेडियो गौमुलका स्टेशन प्रबन्धक रमित विक लगायत कर्मचारीहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया