गाैमुल खबर डटकम आइतबार २१, मङि्सर २०८२ ०३:५२

पवन मधुश्रीको ‘निराशा’ सार्वजनिक : देशको बेथिति, भ्रष्टाचार र परदेशीको कथा

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, मङि्सर ०६, २०८२
पवन मधुश्रीको ‘निराशा’ सार्वजनिक : देशको बेथिति, भ्रष्टाचार र परदेशीको कथा

बाजुरा ः कलाकार पदम बहादुर माझी (पवन मधुश्री) को नयाँ लोक-कोसेली ‘निराशा’ सार्वजनिक भएको छ । देशको बेथिति, राजनीतिक कुशासन र युवालाई विदेशिन बाध्य बनाउने परिस्थितीलाई मार्मिक ढंगले प्रस्तुत गरेको भिडियो सहितको गीत शुक्रबार बडीमालिका म्यूजिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

सामाजिक यथार्थमा आधारित यस गीतले इमानदार नागरिक आफ्नै देशमा बस्न नसक्ने दयनीय अवस्थादेखि राजनीतिक नेतृत्वको अकर्मण्यता र बेथितिबाट जन्मिएको निराशालाई कलात्मक तवरले उजागर गर्छ ।

गीतमा देशमा फैलिएको भ्रष्टाचार, अनियमितता, तस्करी, जाली फट्याइँ जस्ता गतिविधिले सुन्दर परिवार समेत परदेशिन बाध्य बन्नुपरेको कथालाई प्रभावकारी ढंगले प्रस्तुत गरिएको छ ।

गीतमा त्रिभुवन विमानस्थलको एक क्विन्टल सुन तस्करी, नक्कली भुटानी शरणार्थी प्रकरण, ललितानिवास जग्गा काण्ड लगायतका चर्चित घटनालाई व्यङ्ग्यात्मक शैलीमा उठाइएको छ ।

साथै, शक्तिशालीको संरक्षणमा हुने अपराध, नातावाद-कृपावाद, योग्यता भन्दा ‘हाम्रा मान्छे’ लाई प्राथमिकता दिने राज्य संयन्त्र, अदालतमा राजनीतिक दबाब तथा ज्यानमारा र संगठित अपराधीलाई दिइने आममाफी जस्ता यथार्थहरू गीतको केन्द्रमा छन् ।

यिनै कारणले लाखौँ युवा-युवती विदेशिन बाध्य भइरहेको पीडालाई गीतले भावुक तर प्रहारयुक्त शैलीमा प्रस्तुत गरेको छ । गीतमा शब्द, संगीत र स्टोरी कन्सेप्ट पवन मधुश्रीकै रहेको छ । नेत्र भण्डारी र पम्फा कँडेलले स्वर दिएका छन् भने एरेन्ज बिनोद बाजुरालीले गरेका छन् ।

मालश्री स्टुडियो मार्फत निर्मित भिडियोमा पवन मधुश्री, देवीका कार्की, दिनेश ठकुल्ला, सर्मिला ऐडी, कृष्ण खड्का र झरना विकको अभिनय रहेको छ । भिडियो निर्देशन दिनेश ठकुल्लाले गरेका हुन् ।
 

प्रतिक्रिया