बाजुरा ः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नीतिगत तथा संस्थागत सुधार अपरिहार्य रहेको बताएका छन् । शुक्रबार बाजुरा पुगेका उनले जिल्लाका जनप्रतिनिधि तथा कर्मचारीहरूसँगको अन्तक्र्रियामा सुधारका लागि खुला संवाद र सहकार्य जरुरी रहेको उल्लेख गरे ।
कार्यक्रमका सहभागी जनप्रतिनिधि र कर्मचारीहरूले प्रदेश सरकारले स्थानीय तह ऐनमार्फत कर्मचारी राख्ने र सेवा प्रवाहमा अधिकार हस्तक्षेप गर्न खोजेको आरोप लगाउँदै तत्काल संशोधनको माग गरेका थिए।
उक्त विषयमा मुख्यमन्त्री शाहले आफू रहँदासम्म कुनै आन्दोलन वा नाराबाजी आवश्यक नपर्ने बताउँदै छलफलमार्फत समाधानमा पुग्ने प्रतिवद्धता व्यक्त गरे । “यदि ऐन संशोधन नगर्नुपर्ने भए नियमावली अहिले नै टुंगिसक्थ्यो । केही दफा संशोधन गर्नुपर्ने भएकाले प्रक्रिया रोकिएको हो,” उनले भने ।
त्यस्तै लामो समयदेखि रोकिएको राजनीतिक नियुक्ति प्रक्रिया यसै मंसिर महिनाभित्र टुंगिने जानकारी पनि मुख्यमन्त्री शाहले दिए । प्रदेश मातहतका अस्पताल, खेलकुद लगायतका निकायमा ढिलाइ भईरहेको नियुक्ति कार्य अन्तिम चरणमा रहेको उनले बताए ।बाजुरा जिल्ला अस्पताल शैयाको संख्या कम भए पनि प्रदेशस्तरीय अस्पतालका रूपमा विकास गर्न आवश्यक उपकरण, जनशक्ति तथा बजेट तत्काल उपलब्ध गराइने प्रतिवद्धता समेत उनले जनाएका छन् ।
मुख्यमन्त्री शाहका अनुसार हालै सभामुख, समिति सभापति तथा मन्त्रालयका सचिव समेत सहभागी भएको बैठकमा सदन तत्काल सञ्चालन गर्ने र क्याबिनेटबाट ऐन संशोधन प्रक्रिया अघि बढाउने निर्णय भएको छ । सदन चलेको अवस्थामा अध्यादेश ल्याउन नसकिने भएकाले प्रक्रिया ढिलाइ भएको उनले स्पष्ट पारे ।
प्रधानमन्त्रीसँगको भेटमा वर्तमान संविधान, लोकतन्त्र तथा संघीय संरचना प्रति पूर्ण प्रतिवद्धता रहेको जानकारी गराउँदै मुख्यमन्त्री शाहले यही व्यवस्थाबाट मुलुक अगाडी बढ्ने बताए । संघीय सरकारले चुनाव गर्ने घोषणा गरिसकेको उल्लेख गर्दै त्यसका लागि अनुकूल वातावरण निर्माण सबैको जिम्मेवारी भएको उनले बताए ।
कार्यक्रममा जिल्लाका नौ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायत सरकारी कार्यालयका प्रमुखहरूले कार्य प्रगति, समस्या र सम्भावनाबारे प्रस्तुत गरेका थिए । बाजुराबाट निर्वाचित प्रदेश सभा सदस्य पदमबहादुर शाही, नरेश शाही, जुना दानीले समग्र जिल्लाको विकासका लागि एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री कमलबहादुर शाह सहित प्रदेशसभा सदस्यहरू, स्थानीय तहका प्रतिनिधि, निमित्त प्रमुख जिल्ला अधिकारी शीतल बहादुर रावल, सरकारी तथा सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो ।





प्रतिक्रिया