गाैमुल खबर डटकम सोमबार १५, मङि्सर २०८२ ०५:४१

कोल्टीबाटै राष्ट्रिय परिचयपत्र सेवा सुरु, दुर्गमका नागरिकलाई सजिलो

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, मङि्सर ०३, २०८२
कोल्टीबाटै राष्ट्रिय परिचयपत्र सेवा सुरु, दुर्गमका नागरिकलाई सजिलो

बाजुरा ः बाजुराको कोल्टीमा अब राष्ट्रिय परिचयपत्र सेवा सुरु गरिएको छ । बुढीनन्दा नगरपालिका सञ्चालित यो सेवा आउँदा स्थानीय नागरिकले सदरमुकाम मार्तडी धाउनुपर्ने झन्झटबाट मुक्त हुने भएका छन् ।

बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनककुमार बोहराका अनुसार पूर्वी-उत्तरी भेगका चार स्थानीय तहका बासिन्दालाई लक्षित गर्दै सेवा विस्तार गरिएको हो । उनका अनुसार नागरिकलाई घरमै नजिकबाट सजिलो, सरल र छिटो सेवा उपलब्ध गराउन यो कदम उठाइएको हो ।

सदरमुकाममा भीडभाड र दूरीका कारण नागरिकले वर्षौंदेखि भोग्दै आएको कठिनाइलाई समाधान गर्ने उद्देश्य सहित सेवा विस्तार गरिएको प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेलले जानकारी दिएका छन् ।

उनका अनुसार राष्ट्रिय परिचयपत्र वितरणका लागि कोल्टी उपयुक्त ठाउँ भएकाले यसले हजारौँ नागरिकलाई राहत पुग्नेछ । कोल्टीमा सेवा थालिएसँगै दैनिक १० देखि २० जना नागरिक परिचयपत्र बनाउन आउने गरेको कर्मचारी सन्तोषी विकले बताइन् ।

उनका अनुसार सेवा लिन आउने अधिकांश नागरिक उत्साहित छन् र सेवा सहज बन्दै गएको छ । अबदेखि बुढीनन्दा नगरपालिका, जगन्नाथ गाउँपालिका, स्वामीकार्तिक खापर गाउँपालिका र हिमाली गाउँपालिकाका नागरिकहरूले कोल्टीमै राष्ट्रिय परिचयपत्र सेवा प्राप्त गर्न सक्नेछन् ।

साथै जिल्ला प्रशासन कार्यालय मार्तडी र कोल्टी दुवै स्थानबाट परिचयपत्र सेवा उपलब्ध हुने भएपछि नागरिकलाई विकल्प समेत खुलेको छ । यस कदमले दुर्गम क्षेत्रका मानिसहरूलाई समय, धन र श्रम बचत गर्दै सरकारी सेवाप्रति विश्वास बृद्धि गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया