गाैमुल खबर डटकम बुधबार २१, माघ २०८२ ०४:०३

सुजनको राजीनामा स्वीकृत, दीपक धामी बने अनेरास्ववियुको अध्यक्ष

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
सोमबार, मङि्सर ०१, २०८२
सुजनको राजीनामा स्वीकृत, दीपक धामी बने अनेरास्ववियुको अध्यक्ष

काठमाडौं : नेकपा एमाले सम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियुको पदाधिकारी बैठकले डा. सुजन कडरियाको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ । नेपाल कमर्श क्याम्पसमा बसेको बैठकले महासचिव दीपक धामीलाई अध्यक्ष बनाउने निर्णय गरेको हो ।

जेन-जी आन्दोलनमा विद्यार्थी मारिएको विषयमा असन्तुष्टि जनाउँदै कडरियाले राजीनामा घोषणा गरेका थिए । उपाध्यक्ष अञ्जना शिवाकोटीलाई महासचिव बनाउने र अरु पदाधिकारी यथावत् राख्ने निर्णय गरेको धामीले बताए ।

सुजनले सार्वजनिक रूपमा दिएको राजीनामालाई आधार मानेर पारित गरिएको पार्टीका जनसंगठन समन्वय प्रमुख भानुभक्त ढकालले बताए । ‘पार्टीसँग सरसल्लाह गरेरै साथीहरूले त्यो काम गर्नुभएको हो’, उनले भने ।

उनले भने, ‘पदाधिकारी बैठकले सर्वसम्मत निर्णय गरेका छौँ । अब आवश्यक निर्णयार्थ केन्द्रीय कमिटीमा पेश हुनेछ । बैठकपछि कडरियाले आफ्नो राजीनामा स्वीकृत गरेको भन्दै धन्यवाद दिएका छन् ।

उनले लेखेका छन्, ‘आजबाट विद्यार्थी आन्दोलनमा बिताएका तीता-मीठा क्षणहरू पनि औपचारिक रूपमा समाप्त भएका छन् । मैले कसैप्रति जानअन्जानमा कुनै गल्ती वा कडा व्यवहार गरेको छु भने हृदयदेखि क्षमा प्रार्थी छु ।

मेरा अनुभव, संघर्ष र उतार चढावहरू यही यात्रासँगै टुंगिएका छन् । अब म पार्टी जीवनमा पूर्ण समर्पणका साथ प्रवेश गर्दै, नेकपा एमालेको एक इमानदार सिपाहीको रूपमा निरन्तर खटिरहने प्रतिज्ञा गर्दछु ।’ कडरियाले अध्यक्ष धामी लगायत नयाँ जिम्मेवारी पाएका नेतृत्वलाई बधाई तथा शुभकामना दिएका छन् ।

उनले थपेका छन्, ‘भदौ २३ गतेको आन्दोलनमा प्रहरीको गोलीले विद्यार्थीको रगत बगेको क्षणसँगै मेरो अनेरास्ववियु यात्रा अन्त्य भएको सत्यलाई आजको गरिमामय बैठकले आधिकारिक मान्यता दिएकोमा म सम्मान व्यक्त गर्दछु ।

यससँगै, विद्यार्थीको हक-हित र अधिकारका पक्षमा बुलन्द स्वर उठाइरहने संगठन अनेरास्ववियु नै हो भन्ने तथ्य फेरि एकपटक प्रमाणित भएको छ ।’

प्रतिक्रिया