बाजुरा ःनेकपा (एमाले) का स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले हाल देशमा देखिएको राजनीतिक प्रवृत्तिप्रति गम्भीर टिप्पणी गर्दै पार्टी बदल्दैमा व्यक्ति शुद्ध हुने वा नयाँ दल खोल्दैमा राजनीतिक संस्कार बदलिने सोच गलत भएको बताएका छन् ।
उनले यो मनोवृत्ति नेपाली राजनीतिमा जरा गाड्दै गएको र यसले स्वस्थ राजनीतिक विकासलाई अवरुद्ध गरिरहेको धारणा राखेका छन् ।
प्रतिगामी षड्यन्त्रका विरुद्ध एमालेले देशभर सञ्चालन गरिरहेको जनपरिचालन अभियानको क्रममा आफ्नै गृह जिल्ला बाजुरामा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै नेता थापाले वर्तमान राष्ट्रिय संकटको गाउँ-शहरमा परेको प्रभावबारे चर्चा गरेका छन्
उनका अनुसार शासन सञ्चालनमा देखिएका अस्थिरता, आर्थिक चुनौती र जनजीविका सम्बन्धी समस्याको दीर्घकालीन समाधान एमालेको नेतृत्वमै सम्भव छ ।
थापाले एमालेले विभिन्न राजनीतिक उतारचढावका बीचपनि राष्ट्रवादी अडान, विकासोन्मुख दृष्टिकोण र जनताको पक्षमा उभिने प्रतिबद्धता कायम राखेको दाबी गरेका छन् ।
“नेपाल र नेपालीको भविष्य स्थिर, सक्षम र जिम्मेवार राजनीतिक नेतृत्वसँग बाँधिएको छ, त्यो नेतृत्वका लागि एमाले नै स्वाभाविक विकल्प हो,” उनले स्पष्ट रूपमा भनेका थिए ।
उनले हरेक कालखण्डमा एमालेले ‘सतिसाल’ झैँ दृढ भएर देशको पक्षमा उभिएको उल्लेख गर्दै पार्टीले जनताको बल र विश्वासका आधारमा कुनै पनि प्रतिगामी प्रयासलाई सफल हुन नदिने बताए ।
जनसभा सहभागी स्थानीय नागरिकले पनि वर्तमान परिस्थितिमा स्पष्ट, दृढ र जिम्मेवार राजनीतिक मार्गदर्शनको आवश्यकता रहेको बताउँदै कार्यक्रममा उत्साहजनक सहभागिता जनाए ।
थापाले अन्त्यमा दलभित्र सुधार, नेतृत्वमा जिम्मेवारी र राजनीतिक संस्कारमा परिष्कारका कुरा आन्तरिक रूपमा समाधान गरिँदै जाने बताए ।
तर प्रत्येक असन्तुष्टिले दल परित्याग गर्दै नयाँ पार्टी खोल्ने प्रवृत्ति देशको हितमा नहुने भन्दै राजनीतिक स्थायित्व र इमानदार नेतृत्व निर्माणका लागि साझा प्रयास आवश्यक रहेको उनको निष्कर्ष थियो ।





प्रतिक्रिया