गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:५५
Dho

पाठेघर खसेका महिलाको निःशुल्क शल्यक्रियाका लागि गौमुल गाउँपालिकाले धनगढी पठायो

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, पुष १०, २०८०
पाठेघर खसेका महिलाको निःशुल्क शल्यक्रियाका लागि गौमुल गाउँपालिकाले धनगढी पठायो

बाजुरा : गौमुल गाउँपालिकाले पाठेघर खसेका महिलाहरुको निःशुल्क उपचारका लागि धनगढी पठाएको छ ।पालिकामा रहेका पाठेघर खस्ने समस्या भएका महिलाहरुलाई धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा निःशुल्क शल्यक्रिया सहित उपचारका लागि पठाएको स्वास्थ्य शाखा प्रमुख हरिशचन्द्र विकले बताएका छन् । 
लामो समयदेखि पाठेघर खस्ने समस्याले पीडित बनेर घरमै बसिरहेका महिलाहरुको निःशुल्क रुपमा शल्यक्रिया गरिने भएको छ । 
गरिबी र लाजका कारणले पीडा लुकाएर बसेका महिलाहरुको स्थानीय सरकारले सम्पूर्ण बन्दोबस्त गर्ने गरी धनगढी पठाएको अध्यक्ष हरि बहादुर रोकायाले बताएका छन् । 
उपचारमा पठाएका महिलाहरुको धनगढी जान आउन तथा खान बस्नको व्यवस्था सहित उनीहरुका साथमा एक÷एक जना कुरुवा समेत पठाइएको छ ।
जिल्लामा उपचार सम्भव नभएपछि शल्यक्रियाका लागि धनगढी पठाएको, उनले भने, “अहिले उनीहरु चारै जनाको शल्यक्रिया भएर घर फर्कने तयारीमा छन् । 
धनगढीमा शल्यक्रिया गर्न लाग्ने सम्पूर्ण खर्चको व्यवस्था सरकारले लिएको छ । लामो समयसम्म लाजका कारण कतिपय महिला दिदीबहिनीहरुले आफ्नो रोग लुकाएर बस्ने गरेको उपाध्यक्ष सीता थापाले बताईन् । परिवार र समाजबाट अपहेलित हुने डरले रोग लुकाएर बसेका महिलाले निःशुल्क शल्यक्रिया सेवा पाएका हन् ।
चिकित्सकका अनुसार सुत्केरी तथा गर्भवती अवस्थामा गाह्रो काम गर्ने, भारी बोक्ने, खानपिनमा ख्याल नपुर्याउने, उमेर नपुग्दै बच्चा जन्माउने, असुरक्षित सुत्केरी गराउने, सुत्केरी बेलामा यौन सम्पर्क राख्ने लगायतका कारण महिलाको पाठेघर खस्ने गर्दछ ।
कलिलै उमेरमा विवाह गरी आमा हुनुले पाठेघर खस्ने समस्याको शिकार हुने गौमुल गाउँपालिका घट्मुना आधारभूत अस्पतालमा कार्यरत डाक्टर रामानुज हाथीले बताए । 
चेतनाको कमी, लाज मान्ने प्रवृति तथा आर्थिक अभावले महिलाले रोग पालेर बस्ने गरेका छन् । डाक्टरका अनुसार पाठेघर महिलाको प्रमुख प्रजनन् अंग हो ।
पाठेघर खस्ने तीन चरण छन् । पहिलो र दोस्रो चरणलाई रिङ लगाएर उपचार गर्न सकिन्छ भने तेस्रो चरणमा पीडाबाट मुक्तिपाउन शल्यक्रिया बाहेक अर्को विकल्प हुँदैन ।
पाठेघर खस्ने समस्या भएका महिलाहरुले समयमै उपचार नगराएमा क्यान्सर हुने समेत डाक्टरहरुको भनाई रहेको छ । 


 

प्रतिक्रिया