बाजुरा ः नेकपा (एमाले) जिल्ला कमिटी बाजुराका उपसचिव हरिबहादुर रोकायाले सबै राजनीतिक शक्ति मिलेर एमाले विरुद्ध लागेको आरोप लगाएका छन् ।
मंगलबार गौमुल गाउँ कमिटीले आयोजना गरेको “जनपरिचालन तथा जनसभा कार्यक्रम” लाई सम्बोधन गर्दै उनले एमालेको उत्कृष्ट नीति, विचार र विकास दृष्टिकोणकै कारण प्रतिस्पर्धी शक्तिहरूले पार्टी विरुद्ध षड्यन्त्र गर्दै आएको बताएका हुन् ।
रोकायाले एकलौटी ढंगले पार्टी नेतृत्व र संगठन माथि आक्रमण गर्न खोजिएको भन्दै यस्तो व्यवहार लोकतान्त्रिक मूल्य र मान्यताको विरुद्ध रहेको टिप्पणी गरे । उनले भने, “राष्ट्रको विध्वंसमा एमालेको कुनै संलग्नता छैन् ।
नवयुवाको माग सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणमा केन्द्रित छ, त्यस बाहेक अन्य कुनै स्वार्थ छैन् ।” उनले आन्दोलनको लक्ष्य स्पष्ट रहेपनि विभिन्न घुसपैठका कारण देशले आजको अवस्था भोग्नुपरेको उल्लेख गरे ।
विकटका जनप्रतिनिधिहरूले कठिन परिस्थितिमा समेत विकासको अनुभूति जनतालाई दिलाइरहेको बताउँदै उनले काठमाडौँ महानगरका मेयर बालेन शाहलाई गौमुल गाउँपालिकामा आएर विकास गर्न चुनौती समेत दिए ।
रोकायाले दलविहीन जनताहरू बेसहारा हुने भन्दै राजनीतिक दल नै जनताको आधार भएको स्पष्ट पारे । उनले कार्यक्रममा उपस्थित जनतालाई न्यायप्रेमी र सचेत नागरिकको रूपमा सम्बोधन गर्दै हल्ला होइन, यथार्थ र तथ्यमा आधारित भएर अघि बढ्न आग्रह गरे ।
उनका अनुसार, देशलाई अस्थिर र कमजोर बनाउन विभिन्न शक्ति परिचालित भएपनि जनताको जागरूकताका कारण एमाले फेरि राष्ट्रिय शक्तिका रूपमा सुदृढ हुने विश्वास व्यक्त गरे ।




प्रतिक्रिया