बाजुरा ःगौमुल गाउँपालिका-४ कालादहमा रहेको कीर्तिचौर माध्यमिक विद्यालयका प्रधानाध्यापक खडक शाहलाई सम्मानपूर्वक ‘फेरि भेटौंला’ कार्यक्रम सहित विदाई गरिएको छ ।
विद्यालयमा आयोजित एक औपचारिक समारोहका बीच शाहको पाँच वर्षे कार्यकालको योगदानलाई कदर गर्दै उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडा अध्यक्ष अमर विकको अध्यक्षतामा भएको कार्यक्रममा गौमुल गाउँपालिकाकी उपाध्यक्ष सीता थापा प्रमुख अतिथि रहनु भएको थियो ।
कार्यक्रमका विशिष्ट अतिथिहरूमा वडा नं. ५ का अध्यक्ष कलकबहादुर सिंह, वडा नं. ६ का अध्यक्ष प्रकाश रोकाया, वडा नं. ३ का अध्यक्ष गोरख बोहरा, तथा कार्यपालिका सदस्य चक्र सार्की रहेका थिए ।
कार्यक्रममा वडा सदस्य मंगल धामी, छिमेकी विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
उपाध्यक्ष थापाले शाहले विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पुर्याएको योगदान सदैव स्मरणीय रहने बताउँदै उहाँको समर्पण र नेतृत्वका कारण विद्यालयले पछिल्ला वर्षमा उल्लेखनीय प्रगति गरेको बताइन् ।
प्रधानाध्यापक शाहले आफ्नो सम्बोधनमा सिंगो गौमुल गाउँपालिका, वडा अध्यक्ष एवंम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमर विकको निस्वार्थ लगनशीलता र निरन्तर सहयोगकै कारण विद्यालयले अहिलेको उचाइ हाँसिल गर्न सकेको प्रतिक्रिया दिएका छन् ।
उनले विद्यालय, विद्यार्थी र अभिभावक प्रतिको माया सधैं रहने बताउँदै भावुक बिदाई सन्देश व्यक्त गरेका छन् । कार्यक्रमका क्रममा स्थानीय कलाकार लक्ष्मी विकले प्रस्तुत गरेको ‘बिछोडको करौँती’ गीतले उपस्थित सहभागीहरूलाई भावविह्वल बनाएको थियो ।
गीत प्रदर्शनपछि सभाभर केही क्षण भावनात्मक माहोल छाएको हो । यसैबीच गौमुल गाउँपालिकाले समेत शाहलाई औपचारिक रूपमा सम्मानपूर्वक विदाई गर्दै विद्यालयको शैक्षिक विकासमा पुर्याएको योगदानको प्रशंसा गरेको छ ।
साथै, नेपाल शिक्षक सङ्गठन गौमुल गाउँ कमिटीले पनि शाहप्रति सम्मान तथा शुभकामना प्रकट गर्दै विशेष विदाई कार्यक्रम आयोजना गरेको थियो ।
प्रधानाध्यापक शाह हाल सरुवा भई आफ्नै घर नजिकको भानोदय माध्यमिक विद्यालयमा प्रधानाध्यापकको रुपमा कार्यरत हुने भएका छन् ।





प्रतिक्रिया