बाजुरा : बाजुराको बुढीगंगा नगरपालिकामा एनटी फाईबर इन्टरनेट जडानको काम सुरु गरिएको छ । प्रत्येक नागरिकलाई प्रविधिसंग जोड्ने उद्देश्यसहित नगरपालिकाले वडामा इन्टरनेट सेवा विस्तार कार्य सुरु गरेको हो ।
नगरपालिकाले नेपाल टेलिकम प्रदेश कार्यालय अत्तरियासंग सहकार्य गरी इन्टरनेट नपुगेका वडाहरुमा एनटी फाईबर नेट जडानको काम सुरु गरिएको नगर प्रमुख राम बहादुर बानियाँले बताएका छन् ।
उनका अनुसार वडा नं.४,५,६ मा यसभन्दा अघि नै इन्टरनेट जडान भईसकेको छ । फाईबर नेट बाकी रहेका वडा नं. २,३,७,८,९र १० मा जडान गरिने छ । १ नम्बर वडा खप्तड छेडेदहको लाइनमा जोडिएकाले सर्भे गर्न छुट्यो, ठेक्का भने परिसकेको छ, सो वडामा पनि छिट्टै इन्टरनेट जडान हुनेछ ।
बुढीगंगा नगरपालिकालाई प्रविधिमैत्री बनाउँनका लागि इन्टरनेट जडान गर्न लागिएको नगर प्रमुख बनानियाँले बताए । उनले भने अरु माध्यम भन्दा फाइबर इन्टरनेट धेरै स्पिड चल्ने र दुत्र गतिका कामहरु गर्न सजिलो हुने भएकाले फाईबर नेट जडान गर्न लागिएको हो ।
अहिलेको सूचना प्रविधिको युगमा इन्टरनेट सेवा अपरिहार्य भएकाले प्रत्येक नागरिकलाई इन्टरनेटको पहुँचमा पुर्याउन नेट विस्तार गर्न थालिएको उनले बताएका छन् । चुनावी घोषणा पत्रमा प्रत्येक नागरिकलाई सहज इन्टरनेटको पहुँच पुर्याउने बाचा गरेको र सोही बाचा पूरा गर्ने लक्ष्यअनुसार काम अगाडी बढाउँदै गएको नगर प्रमुख बानियाँले बताएका छन् ।
सेवा विस्तारपछि वडाको दैनिक कामकाजमा सहजाता हुनुको साथै स्थानीयहरुले सस्तोमा गुणस्तरीय इन्टरनेट उपभोग गर्न पाउँने उनले बताए । लगातारको दौडधुपले बाकी रहेका वडाहरुमा नेपाल टेलिकमको एनटी फाइबर इन्टरनेट जडान कार्य सुचारु गर्न सफल भएको उनको भनाइ छ ।





प्रतिक्रिया