गाैमुल खबर डटकम शनिबार ०१, कार्तिक २०८२ ०७:४१

बुढीगंगाले गर्यो करार, ज्यालादारी र अस्थायी कर्मचारी हटाउने निर्णय

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, असोज ३१, २०८२
बुढीगंगाले गर्यो करार, ज्यालादारी र अस्थायी कर्मचारी हटाउने निर्णय

बाजुरा ः बुढीगंगा नगरपालिकाले करार, ज्यालादारी र अस्थायी कर्मचारी हटाउने निर्णय गरेको छ । बिहीबार बसेको ४९ औँ कार्यपालिका बैठकले नगरपालिकामा झण्डै एक सय बढी अस्थायी कर्मचारीको कार्तिक १ गतेदेखि म्याद थप नगर्ने निर्णय गरेको नगर प्रमुख रामबहादुर बानियाँले गौमुल खबर डटकमसंग कुरा गर्दै बताएका छन् ।

उनका अनुसार पालिकाले संघीय सरकार र प्रदेश सरकारको ऐन अनुसार पालिकामा कार्यरत अस्थायी कर्मचारीको म्याद थप नगर्ने, जेन-जी आन्दोलनमा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने लगायतका निर्णय गरेको छ ।

नगर प्रमुख बाँनियाले प्रदेशको ऐनलाई ग्रहण गरेर आफुहरुले करार, ज्यालादारी र अस्थायी कर्मचारी हटाउन बाध्य भएको बताएका छन् । हालको अन्तिरिम सरकारले पनि कुनै कर्मचारी भर्ना नगर्न समेत परिपत्र गरेको र प्रदेशको ऐन कार्यान्वयन गरिएको प्रतिक्रिया दिएका छन् ।

प्रदेशले ल्याएको ऐनमा त्रुटी भएकाले यसलाई सच्याउन समेत उनले आग्रह गरेका छन् । अबबाट लोकसेवालाई कर्मचारी माग्ने गरी नगर सरकार अघि बढ्ने बताएका छन् । विशेषगरी स्वास्थ्य संस्थामा रहेका कर्मचारी बढी हटेका छन् ।

विभिन्न चरणमा यसअघि छलफल गरेर सम्पूर्ण कर्मचारी एकै पटक म्याद थप नगर्ने गरी हटाएको नगर उपप्रमुख माया खड्का कुवँरले बताएकी छन् । पालिकाका १० वटै वडाका गरी ती कर्मचारीलाई हटाउने निर्णय गरेपछि कामकाजमा केही समस्या सिर्जित हुने भएको छ । यद्यपि स्थायी दरबन्दी भएका कर्मचारीबाट नियमित रूपमा सेवा प्रदान गरिने भएको छ । 
 

प्रतिक्रिया