गाैमुल खबर डटकम आइतबार १०, फागुन २०८२ ०१:५९

मृत्यु भइसकेका व्यक्तिको नाममा ७३ लाख अनियमितता, वडा अध्यक्ष सहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, असोज ३१, २०८२
मृत्यु भइसकेका व्यक्तिको नाममा ७३ लाख अनियमितता, वडा अध्यक्ष सहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा

बाजुरा ःकैलालीमा मृत्यु भइसकेका व्यक्तिको नाममा सामाजिक सुरक्षा भत्ता निकासा गरेर ७३ लाख रुपैयाँ अनियमितता गरेको अभियोगमा वडा अध्यक्ष सहितका आठ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकी गाउँपालिका-९ को वडा कार्यालयले छ सय ८३ जना लाभग्राहीको आफैंले औंठा छाप लगाएर सामाजिक सुरक्षा भत्ता निकासा गरेर अनियमितता गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।

जानकी गाउँपालिका-९ का वडा अध्यक्ष खकेन्द्र भण्डारी समेतका आठ जनालाई प्रतिवादी बनाइएको भ्रष्टाचार मुद्दामा अख्तियारले ७३ लाख ३७ हजार ६२७ रुपैयाँ बिगो माग दाबी गरेको छ ।

अख्तियारले जारी गरेको प्रेस विज्ञप्तिमा वडा अध्यक्ष भण्डारी, वडा सचिव प्रेमबहादुर बुढा र  कार्यालय सहयोगी सोनम कठरिया समेतको योजनामा मृत्यु समेत भइसकेका लाभग्राहीको प्रत्येक वर्ष नवीकरण गराएर, नवीकरण नभएकाहरुको हकमा समेत आफैं औंठा छाप लगाएर सामाजिक सुरक्षा भत्ता वितरण गरेर अनियमितता गरिएको उल्लेख छ ।

वडा सचिवले दाहिने हातको बुढी औंलाको औँठा छाप २८० र माझी औंलाको औठाछाप १९९ गरेर ४७९ थान औठाछाप लगाएको, कार्यालय सहयोेगी कठरीयाले दायाँ औलाको औठाछाप २०४ थानमा लगाएको राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको परीक्षणबाट पुष्टि भएको उल्लेख छ ।

नवीकरण गर्न नआएको व्यक्तिको हकमा झुट्टा विवरण बनाएर बजेट निकासा गरिएको दाबी छ । मृत्यु दर्ता भइसकेका व्यक्तिको नाममा मात्र सामाजिक सुरक्षा भत्ता वाफत १५ लाख ५० हजार रुपैयाँ बुझेको उल्लेख छ ।

यो प्रकरणमा वडा सदस्यहरु कल्पना खड्का, सुनकोसा सार्की, विजय बहादुर रावल, शेर बहादुर विश्वकर्मा, खरिदार पूर्णबहादुर बिष्ट समेतलाई प्रतिवादी बनाइएको छ । उनीहरु मध्ये वडा अध्यक्ष, वडा सचिव, तत्कालीन खरिदार र कार्यालय सहयोगीसँग बिगो माग दाबी गरिएको छ ।
 

प्रतिक्रिया