बाजुरा : हुलाक सञ्चारको महिमा बारे बाजुरामा खुला डेउडा प्रतिस्पर्धा गराइएको छ । विश्व हुलाक दिवसको अवसर पारी बाजुरामा खुला देउडा गीत प्रतियोगिता आयोजना गरिएको हो । आधुनिक सञ्चारमा माध्यमको विकाससँगै हुलाक सेवाको प्रभावकारीतामा कमि आएको गुनासो बढीरहेको बेला महिमा बारे सचेतनाका लागि खुला देउडा प्रतिस्पर्धा आयोजना गरेको हो ।
१५१ औं विश्व हुलाक दिवसको अवसर पारी सदरमुकाम मार्तडी खुला देउडा गीत प्रतियोगिता आयोजना गरिएको निमित्त कार्यालय प्रमुख उत्तम बमले जानकारी दिएका छन् । प्रतियोगितामा ८ टिम सहभागि थिए । महिला पुरुष बीच नै खुला प्रतिस्पर्धा गराउने उदेश्य राखिएपनि अन्तिम समयमा महिलाहरु मात्रै सहभागि भएका थिए । प्रतियोगितामा सहभागि टिमले अनिवार्य हुलाक सेवा र नागरिकसँगको सम्बन्ध, हुलाक सेवाको महत्व बारे जानकारी गराउनु पर्ने थियो ।
एक टिमलाई ८ मिनेटको समय दिएर प्रतिस्पर्धा गराइएको थियो । नेपालमा वि.स. १९३५ बाट हुलाक सेवा सञ्चालनमा आएको हो । तत्कालिन राणाकालिन प्रधानमन्धी जंगबहादुर राणाले हुलाक सेवाको सञ्चालन गरेका थिए । खबर आदान प्रदान र सूचना पठाउने प्रमुख माध्यम नै विश्वभर हुलाक सेवा थियो । एक शताब्दी लामै समयसम्म आफ्नो प्रभावकारीता जमाएको हुलाक सेवा पछिल्लो समय फोन र इन्टरनेट सेवाले छायामा परेको छ ।
तर पनि सूचना तथा सञ्चार आदान प्रदानको इतिहास बोकेको हुलाक सेवाको प्रभाव अझै कायम रहेको जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले बताएका छन् । निमित्त कार्यालय प्रमुख उत्तम बमको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथी नै समन्वय समिति प्रमुख तुलसी राम रोकाया रहनु भएको थियो । उहाँले देउडा सँस्कृतिको प्रवद्र्धन र प्रचार हुने गरि हुलाक सेवाको प्रभाव बारे सन्देश प्रवाहका लागि देउडा प्रतिस्पर्धा रोचक र सन्देश मुलक रहेको बताएका छन् ।
बडीमालिकाका नगर उपप्रमुख नन्दा कुमारी थापाले हुलाक सेवाको प्रभावकारीता कम हुँदै गएको समयमा गरिएको रचनात्मक कामको प्रशंसा गर्दै महिला सहभागिता रहेकोमा आयोजकलाई धन्यवाद दिएका छन् । प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेलले हुलाक सेवाको सञ्चार प्रवाहको शैली बदलिए पनि प्रभावकारीमा कमि नआएको बताएका छन् ।
प्रतियोगितामा सहभागि ८ वटा टिम मध्ये रजाली महिला समूह प्रथम भएको छ । भने गंगा भवानी महिला समूहले द्धितीय स्थान ल्याएका छन् । खेलमा सहभागि तुलसी महिला समूह तृतीय स्थान ल्याउन सफल भएका छन् । कर्मचारी महिलाहरु सहीत ८ टिम सहभागि थिए । साहित्यकार तथा गायक हर्क खडायत, कृष्ण ओली र धिरेन विक मूल्याकंन भूमिकामा थिए ।
प्रतिस्पर्धा सकिएपछि सयुक्त देउडा खेल आयोजना गरिएको थियो । विजेता सूमहले प्रथम, द्धितीय र तृतीय स्थानका लागि क्रमश १० हजार, ७ हजार, ५ हजार नगद पुरस्कार हासिल गरेका छन् । स्थानीय कला, संस्कृतिको संरक्षण र हुलाक सेवा तथा नागरिकबीचको सम्बन्धका लागि प्रतियोगिताले सकारात्मक सन्देश प्रवाह गरेको बाजुरा जिल्ला हुलाक कार्यालयले बताएको छ ।
प्रतिक्रिया