बाजुरा : तीन वटा राजनीतिक दलले संविधान दिवस सयुक्त रुपमा मनाएका छन् । नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले सयुक्त कार्यक्रम गरि मनाएका हुन् । नेकपा माओवादी केन्द्र, राप्रपा र रास्वपा लगायतका दलहरुले भने जिल्ला स्तरमा कुनै कार्यक्रम आयोजना पनि गरेनन्, र तीन दलकाको संयुक्त कार्यक्रममा पनि सहभागि नभएको देखिन्छ ।
नेपालको संविधान जारी भएको १० वर्ष पूरा भएको अवसरमा मार्तडीको लोकतान्त्रीक चोकमा औपचारिक कार्यक्रम गर्दै दिवस मनाइएको नेकपा एमाले सचिव काशी विकले जानकारी दिएका छन् । संविधानको रक्षा र सफल कार्यान्वयनको मुद्दामा केन्द्रीत रहेर दलहरुले दिवसमा नारा जुलुस लगाएका थिए ।
दलका नेताहरुले नेपालको संविधान संसारकै उत्कृष्ट भएपनि समय र युवाको मागलाई संविधान गरेर प्रभावकारी कार्यान्वयनमा लैजानु पर्नेमा जोड दिएका छन् । समस्या संविधानमा नभएपनि कार्यान्वयनमा समस्या देखिएको वर्तमान परिस्थिति आएकोले अव सबै जना सच्चिएर जानुपर्ने धारणा राखेका छन् ।
नेपाली काँग्रेसका सभापति रामसिंह रावलले संविधानको जगमा रहेर देशको विकास र समृद्धिको मार्ग अघि बढाउनुको विकल्प नरहेको बताएका छन् । दलहरु सच्चीन तयार रहनु पर्छ, सुधार गर्नु पर्ने धेरै ठाउँहरु छन्, तर त्यसो भन्दैमा आन्दोलनका नाममा देश नै जलाउने काम गलत र आतंककारी शैली भएको रावलको भनाई छ ।
नेकपा एमाले बाजुरा उपाध्यक्ष जनक कुमार बोहराले सुधार स्वयम व्यक्तिबाट गर्न जरुरी रहेको भन्दै कुनै व्यक्ति र दल केन्द्रीत आरोप लगाउने कुरा जायज नभएको बताएका छन् । बुढीनन्दा नगरपालिकाका प्रमुख समेत रहेका बोहराले आधिकारीक निकायले छानवीन आफैबाट सुरु गर्न भन्दै निर्दोश व्यक्तिलाई हिलो छ्याप्ने काम राम्रो नहुने बताएका छन् ।
‘यसवर्षको संविधान दिवस हामीले गहिरो पीडा र मिश्रित भावनाका साथ मनाइरहेको बताउँदै बोहराले ‘जेनजी युवा पुस्ताद्वारा आह्वान गरिएको विषय संवोधन गर्न आवश्यक रहेको तर संविधानकै जगमै टेकेर हुनु पर्ने धारणा राखेका छन् ।
नेपाली काँग्रेसका उपसभापति पदम बडुवालले युवापुस्ताको माग र आवाजलाई समेट्दै आजसम्मको संविधान कार्यान्वयनबाट आर्जित अनुभवको आधारमा अझ उन्नत बनाउने दिशामा पुनरावलोकन, सुशासनको सुदृढीकरण र समृद्धिको मार्गमा थप कदम चाल्नुपर्ने सुझाव दिएका छन् । उहाँले नेताको मात्रै दोष देखाउनु भन्दा स्वयम व्यक्तिले आफूलाई समेत सच्याएर जाने संकल्प गर्नु पर्ने बताएका छन् । सरकारले सबैथोक दिनु पर्ने माग नेपाल जस्तो मुलुकका लागि संभव नभएकोले सबै जना सक्षम, सबल र आत्मनिर्भर हुनु पर्ने र इमानमा रहनु पर्ने धारणा राखेका छन् ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष पुरबहादु रावतले युवाहरुको बलिदानलाई कदर गर्दै वर्तमान संविधान परिर्माजन हुनु पर्ने धारणा राखेका छन् । उहाँले दलहरु नसच्चिए यही मञ्च पनि अन्तिम संवोधन हुने खतरा रहेको बताउँदै सबै पार्टीका नेताहरुले समयको मागलाई संवोधन गर्न सक्नु पर्ने र त्यो माधव कुमार नेपाल पनि तयार रहनु पर्ने धारणा राखेका छन् ।
नेकपा एमाले सचिव काशी विकले सञ्चालन गरेको कार्यक्रममा जेन जी पुस्ताकी नेता रिता विष्टले कविता वाचन गरेकी थिइन् । दलका नेताहरुले जेन जी प्रर्दशनका क्रममा हालै भदौ २३ र २४ गतेका दिन भएका दुःखद घटनाले हामीलाई गहिरो पीडा र शोकमा डुबाएको र यस बाट थप पाठ सिकेर उहाँहरुको बलिदानको कदर हुनु पर्ने धारणा राखेका थिए ।
गैरीबजारबाट नारा जुलुस सुरु गरेका दलहरुले बजार परिक्रम पछि खुला मञ्च हुँदै लोकतान्त्रिक चोकमा आएर कोण सभा आयोजना गरेका हुन् । संविधानले नेपालीलाई नागरिक स्वतन्त्रताको प्रत्याभूत गर्नुका साथै देशको विविधतालाई सम्मान गर्ने, न्याय र समान अवसरलाई संस्थागत गर्ने तथा शासन प्रणाली वास्तवमै जनताको हातमा रहेको सुनिश्चितता प्रदान गरेको धारणा राखेका थिए ।
प्रतिक्रिया