गाैमुल खबर डटकम मङ्गलबार ३१, भदौ २०८२ ०३:१८

मार्तडी र कोल्टीमा सुपथ मुल्य पसल सञ्चालन

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, भदौ ३०, २०८२
मार्तडी र कोल्टीमा सुपथ मुल्य पसल सञ्चालन

बाजुरा ः बाजुरामा आजबाट चाडपर्व लक्षित सुपथ मुल्य पसल सञ्चालनमा ल्याएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराले देशभरी जस्तै जिल्लामा पनि औपचारिक रुपमा सुपथ पसल सञ्चालनमा ल्याएको हो । जिल्लामा खाद्य संस्थानका शाखा मार्तडी र कोल्टी डिपोमा सुपथ मुल्य पसल सञ्चालनमा आएका हुन् ।

शाखा कार्यालयबाट चामल र चिनी सहुलियत मूल्यमा बिक्री वितरण सुरु गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराका प्रमुख उमेश भण्डारीले बताएका छन् । मार्तडीमा चामल र चिनी सहुलियत मूल्यमा बिक्री वितरण भइरहेको छ भने कोल्टीमा चामलमा मात्रै सहुलियत दिइएको छ ।

सुपथ मुल्य पसल सञ्चालन भएसँगै चामल र चिनीमा प्रति केजी ५ रुपैयाँ छुट दिइने छ । हाल जिल्लाका दुबै शाखा कार्यालयबाट मोटा चालम प्रति केजी ६२ र स्टिम मसिनो चामल ९० रुपैयाँमा विक्री वितरण भइरहेको छ । त्यस्तै चिनी एक सय ५ रुपैयाँमा विक्री भइरहेको छ ।

अब सुपथ मूल्य पसलमा मोटा चामल प्रति केजी ५७, स्टिम मसिनो ८५ र चिनी एक सय रुपैयाँ विक्री वितरण हुन थालेको छ । उक्त सहुलियत पसलका लागि जिल्लामा ३ हजार ५ सय क्वीन्टल चामल र चिनी २ सय क्वीन्टल कोटा छुट्याइएको छ । दसैं–तिहार, छठ पर्व लक्षित सरकारले सञ्चालन गरेको सुपथ मूल्य पसल आगामी कार्तिक १० गतेसम्म सञ्चालन गर्ने भएको छ । 

४ वटा विक्री केन्द्रमा पनि सुपथ मूल्य पसल

खाद्य संस्थानले जिल्लाका ४ वटा अस्थायी विक्री केन्द्रमा पनि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । अस्थायी विक्री केन्द्र गौमुल गाउँपालिका घट्मुना, धुलाचौर, बिच्छ्या हिमाली र पाण्डुसैन बुढीनन्दामा सुपथ पसल सञ्चालन हुने भएका हुन् । सबै ठाउँसँगै अर्थात् आजबाट सञ्चालन गर्ने तयारी भएपनि विविध कारणले विक्री केन्द्रमा सञ्चालन हुन नसकेको जनाएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराका प्रमुख उमेश भण्डारीले केन्द्रीय निकायले ठेक्का प्रक्रियाबाट ठेक्का स्वीकृत नगर्दा विक्री केन्द्रमा सुरु नभएको बताएका छन् । ठेक्का स्वीकृत भएपछि विक्री केन्द्रमा सहुलियत पसल सञ्चालन गर्न जिल्ला खाद्य व्यवस्था समितिको बैठक बसेर कोटा निर्धारण गरी चामल ढुवानी भएपछि मात्रै सुरु हुनेछ ।

तर अहिले जिल्लाको सर्वाधिक विकट बिच्छ्या अस्थायी विक्री केन्द्र लगायतका स्थानमा सहज रुपमा चामल ढुवानी गरेर सुपथ पसल सञ्चालन गर्ने अवस्था रहेको छैन् । हाल जिल्लाको पूर्वी उत्तरी क्षेत्र जोडने मार्तडी–कोल्टी सडकखण्ड तीन महिना देखि अवरुद्ध छ । हालसम्म सडकखण्ड खुलाउन कुनै पहल पनि हुन सकेको छैन् ।
 

प्रतिक्रिया