गाैमुल खबर डटकम मङ्गलबार १८, कार्तिक २०८२ ११:३३

पत्रकार महासंघले भन्यो : प्रतिनिधिसभा विघटन अनिष्टको संकेत

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
आइतबार, भदौ २९, २०८२
पत्रकार महासंघले भन्यो : प्रतिनिधिसभा विघटन अनिष्टको संकेत

काठमाडौं : नेपाल पत्रकार महासंघले संविधानको प्रावधान विपरीत राष्ट्रपतिले सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेको र प्रतिनिधि सभा विघटन सिफारिस सदर गरेको भन्दै विरोध जनाएको छ। यसबाट जनमतको अपमान भएको महासंघको ठहर छ ।

नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले आज जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘अलोकतान्त्रिक र असंवैधानिक कदमको महासंघ घोर निन्दा र भर्त्सना गर्दछ ।’

महासंघका अनुसार जेनजी पुस्ताले उठाएको भ्रष्टाचार र बेथितिविरूद्धको माग संविधानको दायराभित्रबाटै पूरा गरी उन्नत लोकतान्त्रिक अभ्यासमा अगाडि बढ्ने अवसर मुलुकले प्राप्त गरेको थियो ।

‘तर राष्ट्रपतिबाट संविधानकोे प्रावधान विपरीत प्रधानमन्त्री नियुक्त गरियो, प्रधानमन्त्रीले मध्यरातमा गरेको प्रतिनिधि सभा विघटन सिफारिस सदर गरियो । यसबाट जनमतको अपमान भएको छ,’ महासंघले भनेको छ । यसलाई महासंघले अनिष्टको संकेत भनेको छ ।

‘महासंघ संविधान विपरीत प्रधानमन्त्रीको नियुक्ति र सर्वोच्च अदालतबाट यसअघि प्रतिपादित नजिर र सिद्धान्त विपरीत भएको प्रतिनिधि सभा विघटन संवैधानिक र नागरिक सर्वोच्चता विपरीत रहेको ठहर गर्दै यो कदम लोकतन्त्रका लागि अनिष्टको संकेत हो भन्ने ठान्दछ,’ विज्ञप्तिमा लेखिएको छ ।

संविधानले व्यवस्थित गरेका गणतन्त्र, संघीयता, समावेशिता जस्ता उपलब्धिमा आघात पुग्ने आशंका गर्दै महासंघले वर्तमान संविधान र यसबाट प्राप्त उपलब्धिको रक्षार्थ दृढतापूर्वक अगाडि बढन सबै पक्षलाई आह्वान गरेको छ ।

प्रतिक्रिया