गाैमुल खबर डटकम शनिबार २८, भदौ २०८२ ०९:५२

बाजुराका चार दलको एउटै स्वर : लोकतन्त्रको विकल्प लोकतन्त्र, नेतृत्वले आत्मलोचना गर्नुपर्ने निष्कर्ष

बाजुरा
रमित वि.क.
शुक्रबार, भदौ २७, २०८२
बाजुराका चार दलको एउटै स्वर : लोकतन्त्रको विकल्प लोकतन्त्र, नेतृत्वले आत्मलोचना गर्नुपर्ने निष्कर्ष

बाजुरा ः बाजुराका चार राजनीतिक दलको एउटै स्वर रहेको छ । नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा एकिकृत समाजवादीले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र भएको बताएका छन् । जिल्लामा क्रियाशील चारवटा राजनीतिक दलले शुक्रबार संयुक्त विज्ञप्ति मार्फत यस्तो बताएका हुन् ।

दलहरुले राजनीतिक समस्याको समाधान संविधान बाहिरबाट हुन नसक्ने पनि जिकिर गरेका छन् । चार दलले भने, ‘डेमोक्रेसीको विकल्प डेमोक्रेसी मात्र हो । राजनीतिक समस्याको समाधान संविधान बाहिरबाट हुन सक्दैन् ।’ देश यतिबेला जटिल राजनीतिक परिस्थितिबाट गुज्रिरहेको छ ।

बढ्दो बेरोजगारी, भ्रष्टाचार, सुशासनको अभाव, युवा पुस्तामा बढ्दो निराशा र विदेशी हस्तक्षेपका कारण अहिले राष्ट्रिय सार्वभौमिकता माथि प्रश्न खडा भएको संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ । हाम्रा कमीकमजोरीका कारण जेनजीले आन्दोलन गर्न बाध्य भएको चारवटै राजनीतिक दलको स्पष्ट बुझाई रहेको छ ।

जेनजीले गरेको आन्दोलनका क्रममा ज्यान गुमाएका सबै प्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना र आन्दोलनमा घाइते भएकाहरको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

यस्तो विषम परिस्थिति सिर्जना हुनुमा हाम्रो नेतृत्वले आत्मलोचना गर्नुपर्ने निष्कर्ष सहित पार्टीलाई लोकतान्त्रिक आचरण अनुरुप संस्थागत सुधार गर्न केन्द्रीय नेतृत्वलाई आग्रहका साथ लोकतन्त्रको रक्षा गर्नु हामी सबैको दायित्व भएको, संविधानको मर्ममा असर नपर्ने गरी जेनजीको आन्दोलनमा प्राप्त उपलब्धीलाई संस्थागत गर्ने, राष्ट्रहित विपरित हुने कुनै पनि गतिविधिका विरुद्ध हामी संयुक्त रुपमा उभिने छौं, देशमा सुशासन, भ्रष्टाचार नियन्त्रण र कानूनी शासन कायम गर्न प्रतिवद्द छौं, राजनीतिक दल र जेनजी आन्दोलनका अगुवाबीच संवाद, छलफल तथा सम्झौता गरी आन्दोलनका उपलब्धीलाई लोकतान्त्रिक विधिबाट संस्थागत गर्न आग्रह गरिएको छ 

त्यस्तै संवैधानिक प्रक्रिया मार्फत यथाशीघ्र सरकार गठन गरी हालको अन्यौलतालाई सु-व्यवस्थित गर्न समेत आग्रह गरिएको छ । नेपाली काँग्रेसका तर्फबाट उपसभापति पदम बडुवाल, नेकपा (एमाले) का धर्मराज पाध्याय, नेकपा (माओवादी केन्द्र) का देवीचन्द्र बुढा र एकिकृत समाजवादीका अध्यक्ष पुर बहादुर रावतले संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका छन् । 
 

प्रतिक्रिया