बाजुरा ःनेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश समितिले माघ २३ गते Gen-Z को नेतृत्वमा भएको आन्दोलनका क्रममा देखिएका हिंसात्मक गतिविधिप्रति गम्भीर आपत्ति जनाएको छ।
एमालेले शुक्रबार विज्ञप्ति जारी गर्दै आन्दोलनकै नाममा प्रहरी, सुरक्षाकर्मी र आम नागरिकमाथि आक्रमण हुनु दुःखद भएको बताएको छ।
विज्ञप्ति अनुसार आन्दोलनमा संलग्नहरूले करिब ६०० जना सुरक्षाकर्मीलाई घाइते बनाएका छन्, जसमा दुई दर्जनभन्दा बढी गम्भीर अवस्थामा पुगेका छन्। त्यस क्रममा सडक, पुल, सरकारी कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य केन्द्र, गाडी तथा निजी सम्पत्तिमा क्षति पुर्याइएको भन्दै एमालेले घटनाको भर्त्सना गरेको छ।
पार्टीले तोडफोड र हिंसात्मक गतिविधिमा संलग्नलाई नियन्त्रणमा लिन, कानुनी कारबाही गर्न र घटनामा देखिएका कमजोरीबारे गहन छानबिन गर्न सरकारसँग माग गरेको छ।
प्रदेश समिति अध्यक्ष कृष्णप्रसाद जैशीद्वारा हस्ताक्षरित विज्ञप्तिमा संविधानले प्रदत्त अधिकारको दुरुपयोग गर्दै जनतालाई आतंकित बनाउने गतिविधि अस्वीकार्य रहेको उल्लेख छ। साथै, एमालेले शान्तिपूर्ण विरोधलाई समर्थन गर्ने भए पनि तोडफोड र हिंसालाई कुनै हालतमा मान्यता दिन नसकिने चेतावनी दिएको छ।
प्रतिक्रिया