धनगढी ः कैलालीमा एक महिला र उनकी १० महिनाकी छोरीको शव रुखमा झुन्डिएको अवस्थामा फेला परेको छ । इलाका प्रहरी कार्यालय सुखडका अनुसार घोडाघोडी नगरपालिका-७ निवासी २१ वर्षीया आरती डंगौरा र उनकी छोरी अनुजा टगौरा मृत अवस्थामा भेटिएका हुन् ।
साउन २९ गतेदेखि बेपत्ता भएकी आमा-छोरी आज नजिकैको गौरीशंकर सामुदायिक वनमा मृत भेटिएका हुन् । इलाका प्रहरी कार्यालय सुखडका डीएसपी रमेशदत्त अवस्थीका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ ।
उनले भने, ‘शवलाई पोष्टमार्टमका लागि टिकापुर अस्पताल पठाइएको छ । अहिलेसम्म कसैले जाहेरी दिएको छैन तर हामी छानबिन गरिरहेका छौँ ।’
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार सुरूमा छोरीलाई झुण्ड्याएर र त्यसपछि आमाले आत्महत्या गरेको देखिन्छ । तर, विस्तृत घटना अनुसन्धानपछि मात्र भन्न सकिने प्रहरीको प्रष्टोक्ति छ । आरती डंगौराको दुई वर्षअघि बिहे भएको थियो ।
प्रतिक्रिया