गाैमुल खबर डटकम शनिबार १४, भदौ २०८२ ०६:५०

कोदो : दिगो कृषिको आधार

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, साउन १६, २०८२
कोदो : दिगो कृषिको आधार

कोदो पोषणीय गुणस्तरले भरिपूर्ण अन्न हो, जसमा प्रोटिन, फाइबर, भिटामिन बी समूहका भिटामिनहरू, र महत्वपूर्ण खनिजहरू जस्तै आइरन, क्याल्सियम र म्याग्नेसियम उच्च मात्रामा पाइन्छ । विशेषगरी यसको प्रोटिन मात्रा १२.३ ग्राम प्रति १०० ग्राम हुने हुँदा यो स्वास्थ्यका दृष्टिले निकै लाभदायक छ । कोदोलाई स्वास्थ्य क्षेत्रमा उच्च प्राथमिकता दिनुपर्ने कारण पनि यही पोषणीय मूल्य हो ।

यसले मधुमेह नियन्त्रणमा सहयोग पुग्ने, हृदय रोगका जोखिम घटाउने, मोटोपना कम गर्ने साथै पाचन प्रणाली सुधार्न मद्दत गर्ने अनुसन्धानहरूले देखाएका छन् । नेपालमा १९८८ देखि २०१९ सम्मको अध्ययनअनुसार कोदो उत्पादनमा फलामयुक्त मलको प्रयोग, उपज हुने क्षेत्रफल र ग्रामीण क्षेत्रको जनसंख्याजस्ता मुख्य प्रभावकारी तत्वहरूले महत्वपूर्ण भूमिका खेलेका छन् ।

फलामयुक्त मलले उपजमा वृद्धि ल्याउँछ भने अधिक कृषियोग्य जमिन र सक्रिय ग्रामीण जनसंख्या भएको ठाउँमा कोदो उत्पादन निकै फैलिएको र वृद्धि भएको छ । औसत तापक्रममा देखिएको वृद्धि कोदो उत्पादनमा आर्थिक र दीर्घकालीन नकारात्मक प्रभाव नरहेकाले यस बालीलाई जलवायु परिवर्तनप्रति बढ्दो सहिष्णुता भएको देखिन्छ ।

कोदो खेतीले नेपालको पहाडी भूभागमा विशेष रूपमा सकारात्मक भूमिका खेलेको छ, जहाँ माटोको उर्वरता कम हुनु र सिँचाइको पहुँच अपुग हुनु मुख्य चुनौती हुन् । यो बाली कम पानीमा उग्ने, कम उर्वरभूमि चाहिने र कठिन भौगोलिक तथा जलवायु परिस्थितिहरूमा पनि टिकाउ हुने भएकाले दिगो कृषि प्रणालीलाई सुदृढ बनाउने विकल्पको रूपमा चिनिन्छ ।

त्यस्तै, कोदो खेतीले ग्रामीण कृषकहरूलाई खाद्य आत्मनिर्भरता प्राप्ति मात्र होइन, आर्थिक रूपमा पनि सशक्त बनाउन सहयोग पुर्‍याएको छ । यसले नेपालको कृषि क्षेत्रमा नयाँ सम्भावना र दिगो विकासको मार्ग प्रशस्त गरेको छ । पछिल्लो समय बजारमा कोदो र यसबाट बनेका प्रशोधित उत्पादन कोदोको पिठो, बिस्कुट, नास्ता र परम्परागत रक्सीप्रति माग बढ्दै गएको छ ।

यसले मात्र कृषकलाई नभई युवा उद्यमशीलता र रोजगारीका नयाँ अवसरहरू सिर्जना गरेको छ । कोदो आधारित उद्योगको विकासले ग्रामीण क्षेत्रको आर्थिक सशक्तीकरणमा ठूलो योगदान पुर्‍याउने सम्भावना राख्छ । नेपाल सरकारले कोदो खेतीलाई प्रोत्साहन गर्न नीति समर्थन र अनुदान वितरणमा जोड दिनुपर्छ ।

साथै, आधुनिक बिउ, प्रविधि र कृषि व्यवहारहरूको पहुँच व्यापक बनाउनु आवश्यक छ, जसले उत्पादन लागत घटाउने र गुणस्तर वृद्धिमा मद्दत गर्छ । कृषकहरूलाई व्यावसायिक कृषिको तालिम दिएर सम्पूर्ण उत्पादन शृंखलामा सुधार ल्याउन सकिन्छ । कोदो नेपालको सांस्कृतिक परम्परामा गहिरो स्थान राख्छ ।

थारू, मगर, लिम्बू, नेवारलगायतका विविध जातीय समुदायको जीवनशैली, पर्व र धार्मिक अनुष्ठानहरूमा कोदो विशेष रूपमा प्रयोग हुन्छ । परम्परागत कोदोबाट बनेका खाद्य तथा रक्सी उत्पादनले ती संस्कृतिको पहिचानलाई मजबुत बनाएको छ । कोदोका परिकारहरूले ग्रामीण र सामाजिक सम्बन्धमा पोषण र सांस्कृतिक एकतालाई बचाइराख्न महत्वपूर्ण भूमिका खेलिरहेछन् ।

यस प्रकार, कोदो खेतीले मात्र आर्थिक, स्वास्थ्य र पर्यावरणीय फाइदाहरू नदिइकन सांस्कृतिक गौरव र पहिचान पनि सुरक्षित गरेको छ । कृषक, नीतिनिर्माता र उद्यमीहरूले मिलेर कोदो उत्पादन र प्रवद्र्धनमा केन्द्रित भए नेपालको दिगो विकासमा मात्र नभई सांस्कृतिक संरक्षणमा पनि थप बल पुग्नेछ । सहरीकरणका कारण कृषियोग्य जमिनको कमी, गुणस्तरीय बिउ र आधुनिक कृषि यन्त्रहरूको अभाव, बजारसम्म सहज पहुँच नहुनु तथा उपभोक्ताको कम जागरूकता आदि कोदोका लागि समस्या हुन् ।

गुणस्तरीय बिउको उपलब्धता नहुँदा उत्पादन कम हुने र बाली रोगप्रतिको प्रभावकारिता कम हुने क्रम बढेको छ । आधुनिक कृषि प्रविधिको अभावले उत्पादन क्षमता बढाउन समस्या आउने भएकाले कृषकलाई प्रभावकारी उपकरण र प्रविधि उपलब्ध गराउनु आवश्यक छ । बजारको पहुँचमा कमजोरी र ब्रान्डिङ तथा बजार व्यवस्थापनमा भद्रगोलले किसानको आयमा स्थिरता छैन ।

उपभोक्तामाझ कोदोका स्वास्थ्य र पोषणीय फाइदाबारे जनचेतना कम भएकाले यसको माग स्थिर छैन । अब कृषकलाई लक्षित अनुदान तथा तालिम कार्यक्रम सञ्चालन गर्नुपर्छ । गुणस्तरीय बिउको प्रवद्र्धन गरी नयाँ र दिगो किसिमका बिउ विकास गर्नुपर्छ ।

बजार सञ्जाल विस्तार गरी ब्रान्डिङ सुधार गरी कोदो उत्पादनलाई बजारमैत्री बनाउन आवश्यक छ । उपभोक्तामा कोदोका पोषणीय फाइदाबारे व्यापक जागरुकता अभिवृद्धि गर्नुपर्छ, जसले माग बढाउँछ । महिला तथा युवामा उद्यमशीलता जगाउन आवश्यक छ, जसले ग्रामीण विकास र आर्थिक सशक्तीकरणमा ठूलो योगदान गर्नेछ ।

निष्कर्ष : कोदो नेपालमा पोषण र दिगो कृषि प्रणालीको प्रमुख आधारशिला हो । यसको महत्व मात्र उत्पादन वृद्धिमा सीमित नहुँदै, खाद्य सुरक्षा, स्वस्थ जीवनशैली तथा तापक्रम र जलवायु परिवर्तनका प्रभावबाट बच्ने उपायसमेत हो । कोदोले कम पानी र कम उर्वरभूमिमा पनि उत्पादन दिन सक्छ ।

जसले ग्रामीण कृषकहरूको आय वृद्धि गर्न सहयोग पुर्‍याउने मात्र होइन, ग्रामीण क्षेत्रमा रोजगारीका नयाँ अवसरहरू सिर्जना हुनेछ । सरकारले कोदो उत्पादन प्रवर्द्धनका लागि सकारात्मक नीति, गुणस्तरीय बिउ प्रविधि, अनुदान र तालिम कार्यक्रमहरू सञ्चालन गर्नुपर्नेछ ।

आधुनिक अनुसन्धान र प्रविधिले कोदोको उत्पादन क्षमता र गुणस्तरमा उल्लेखनीय सुधार ल्याउन सक्ने देखिन्छ । कोदो केवल अन्न हैन, स्वास्थ्य र दिगोपनको प्रतीक हो भन्ने सामाजिक जागरूकता बढाउनु पनि आवश्यक छ । नेपालको ‘कोदो दिवस’ यस परम्परागत अन्नको भूमिका पुनस्र्थापित गर्ने र विकासको नयाँ बाटो खोल्ने महत्वपूर्ण अवसर हो । डा. हरि जोशीले अन्नपूर्ण पोस्टमा लेखेको विचार

प्रतिक्रिया