बाजुरा ः हिमाली गाउँपालिकामा जीप दुर्घटनाका घाइतेहरुलाई हेलिकप्टर मार्फत सुर्खेत पठाइएको छ । जिल्ला प्रशासन कार्यालय बाजुरा र पर्यटन मन्त्रालयको पहलमा गृह मन्त्रालयबाट सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी शितल रावलले जीप दुर्घटनाबाट घाइतेहरु मध्ये गम्भीर अवस्था भएका ४ जनालाई पहिलो चरणमा उपचारका लागि सुर्खेत पठाइएको बताएका छन् । जसमा घाइते चालक गौरी बुढा, बाँचधन रोकाया, राम बहादुर बुढ्थापा र सुरेन्द्र शाहीलाई रेफर गरिएको छ ।
उनीहरुलाई हिमाली गाउँपालिकाको तिथिचौरबाट उद्धार गरिएको बताए । त्यस्तै उनका अनुसार केही मध्यम अवस्था भएकाहरुलाई उपचारका लागि कोल्टी अस्पतालाई ल्याइएको छ भने बाँकी सिकिस्त घाइतेलाई दोस्रो चरणमा उद्धार गरिने बताइएको छ ।
बिहीबार बिहान वडा नम्बर-५ क्युडीबाट धुलाचौर आउँदै गरेको जीप दर्घटना भएको थियो । हिमाली गाउँपालिका २ बस्ने अन्दाजी २२ वर्षका गौरी बुढाले चलाएको बा प्र.०३००१ज ०३३८ नम्बरको जीप कच्ची साघुँरो सडकमा अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने चालक सहित १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घाइते मध्ये १३ जनाको अवस्था गम्भीर छ । सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि वडा आउन लागेका उनीहरु दुर्घटनामा परेका हुन् ।
प्रतिक्रिया