गाैमुल खबर डटकम शुक्रबार १३, असार २०८२ ०१:५३

त्रिवेणीमा गाउँमै स्वरोजगारको अभ्यास, कृषक सामूहिक पशुपालनमा

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, असार १२, २०८२
त्रिवेणीमा गाउँमै स्वरोजगारको अभ्यास, कृषक सामूहिक पशुपालनमा

बाजुरा ः त्रिवेणी नगरपालिकाका कृषकहरू सामूहिक पशुपालनको अभ्यासमा लागेका छन् । उत्पादन सँग जोडिने र गाउँमै स्वरोजगार बन्ने उद्देश्य सहित त्रिवेणी नगरपालिका-१,२,३ ४ र ६ नम्बर वडाका स्थानीय कृषक फर्म नै दर्ता गरेर सामूहिक पशुपालन व्यवसायमा लागेका हुन् ।

जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराले अनुदानका कार्यक्रम मार्फत कृषकलाई व्यावसायिक बनाउने योजना लागू गरेपछि कुखुरा पालन र भैँसी पालनमा सामूहिक व्यावसायिक अभ्यास सुरु गरिएको विशेष कृषि तथा पशुपालन समूह त्रिवेणी-४ का अध्यक्ष तुले अयडीले बताएका छन् ।

उनका अनुसार हाल विशेष कृषि तथा पशुपालन समूहले सामूहिक भैँसी पालन गरी दूध, दही, मही र घिउ बजारीकरण गरी आम्दानी गर्न शुरु गरिसकेको उल्लेख गरे । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बाजुराको ९ लाख ९० हजार अनुदान र विशेष कृषि तथा पशुपालन समूहको २ लाख ७७ हजार श्रमदान सहित १२ लाख ६७ हजार रुपैयाँको लगानीमा शिव धाम गाग्राका ११ जना स्थानीय कृषकले भैँसीपालन सुरु गरि सामूहिक उत्पादनमा जोडिने अभ्यासको शुरुवात गरिएको स्थानीय टेकराज गिरीले बताएका छन् ।

सुधारिएको आधुनिक गोठमा पहिलो पटक ३ वटा भैँसी राखेर व्यवसायको सुरुवात गर्दा मासिक ५० हजार भन्दा बढी आम्दानी हुने गरेको र थप उन्नत जातका भैँसी खरिद प्रक्रिया थालिएको हो । सामूहिक भैँसी पालनलाई आधुनिक तवर बाट सञ्चालन गर्न सुधारिएको गोठ सँगै घाँस काट्ने मेसिन, मही बनाउने मेसिन समेत राखिएको छ । सामूहिक भैँसी पालन सँगै त्रिवेणिका अरू वडाहरूमा समेत सामूहिक व्यवसायको सुरुवात गरिएको छ ।

लालीगुराँस महिला कृषक समूह मार्फत वडा नम्बर-३ मा सामूहिक कुखुरा पालन व्यवसाय सञ्चालनमा छ । २५ जना स्थानीय कृषकको सहभागीतामा थालिएको उक्त सामूहिक व्यावसायिक कुखुरा पालनमा पहिलो पटक ल्याइएका करिब एक हजार चल्ला रोगका कारण मरेका र फेरि चल्ला ल्याउने र व्यवसायलाई थप बिस्तार गर्ने गरि तयारी थालिएको लालीगुराँस महिला कृषक समूहकी अध्यक्ष हिउकला कुमारी साउँद भण्डारीले बताएकी छन् ।

आधुनिक खोर, दाना, भाँडा सहित आवश्यक सामग्री खरिद गरिसकिएको छ। वडा नम्बर ३ मा मात्र भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको ८ लाख अनुदान सहयोगमा अरू २ वटा व्यावसायिक कुखुरा फर्महरू सञ्चालनमा ल्याएको हो ।

सामूहिक भैँसी पालन र कुखुरा पालनको बुधबार एक औपचारिक कार्यक्रमकाबीच त्रिवेणी नगरपालिकाका नगरप्रमुख कर्ण बहादुर थापा, उपप्रमुख कमला कुमारी जैशी न्यौपाने, ४ नम्बर वडा अध्यक्ष गणेश साउँद, ३ अध्यक्ष मीन बहादुर भण्डारी, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराका प्रमुख सिद्धराज जैशी लगायतले निरीक्षण गरेका हुन् ।

प्रतिक्रिया