गाैमुल खबर डटकम शुक्रबार १३, असार २०८२ ०२:५१

बुढीगंगा अब ‘बार्जु नगरपालिका’, ऐतिहासिक नामले नयाँ पहिचान

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, असार १२, २०८२
बुढीगंगा अब ‘बार्जु नगरपालिका’, ऐतिहासिक नामले नयाँ पहिचान

बाजुरा ः बुढीगंगा नगरपालिका अबदेखि ‘बार्जु नगरपालिका’ का रूपमा चिनिने भएको छ। नगरपालिकाको १२औँ नगर सभाले सर्वसम्मत निर्णय गर्दै नयाँ नामकरण प्रस्ताव पारित गरेको हो। यससँगै यो नगरपालिका ऐतिहासिक नामले पुनः परिचित हुने भएको छ।

स्थानीय बुढीगंगा नदीको नामबाट राखिएको पुरानो नाम हटाउनुको पछाडी प्रशासनिक झन्झटदेखि ऐतिहासिक सन्दर्भसम्मका विभिन्न कारणहरू रहेका छन्। नगर प्रमुख रामबहादुर बानियाँका अनुसार, कुनै पनि ठाउँको नाम त्यही क्षेत्रको पहिचान हो। तर जब त्यो नाम अन्य ठाउँसँग मिल्न जान्छ, व्यवहारिक समस्या उत्पन्न हुन्छ।

नगरपालिकाको नाम परिवर्तनको मुख्य कारण पनि यही हो। बुढीगंगा नामकै कारण प्रदेश र संघ तहमा योजना, बजेट तथा पत्राचारमा अन्योल उत्पन्न भएको नगर प्रमुख बानियाँ बताउँछन्। उनका अनुसार, मोरङ जिल्लामा रहेको बुढीगंगा गाउँपालिका र बाजुराकै बुढीनन्दा नगरपालिकासँग नामको समानता हुँदा बुढीगंगाका लागि छुट्याइएको योजना र बजेट अरु ठाउँमा पुग्ने समस्या देखिन थाल्यो। छोटकरीमा लेख्दा ‘बुढीगंगा नगरपालिका’ र ‘बुढीनन्दा नगरपालिका’ दुवैलाई ‘बुनपा’ भनेर चिनिँदा भ्रमको अवस्था थप बढेको थियो।

यस समस्यालाई दृष्टिगत गर्दै नगरपालिकाले पाँचौँ नगर सभादेखि नै नाम परिवर्तनको विषयमा छलफल अघि बढाएको थियो। समस्या स्थायी समाधानका लागि कार्यपालिकाले विशेष समिति गठन गरी नाम परिवर्तनको आवश्यकता र वैकल्पिक नामहरूबारे अध्ययन गराएको थियो।

त्यसपछि ‘समृद्धिका लागि बुढीगंगा विकास कचहरी’ नामक सम्मेलन आयोजना गरियो, जहाँ स्थानीय सरोकारवाला तथा नागरिकहरूको राय संकलन गरिएको थियो। अधिकांश सहभागिले नाम मिल्दाजुल्दा आउने समस्या अन्त्य गर्न नयाँ नाम राख्नुपर्नेमा जोड दिएका थिए। प्राप्त सुझावका आधारमा नाम परिवर्तन प्रक्रिया अगाडि बढाइएको हो ।

नाम परिवर्तनको मुद्दामा हालको बुढीगंगा नगरपालिकाका  स्थानीय समेत रहेका पूर्व प्रदेश प्रमुख देवराज जोशी, पूर्वमन्त्री कर्णबहादुर थापा सहित नेताहरु पनि समर्थन गरेका थिए । उनीहरुले पनि ऐतिहासिक विरासत बोकेको स्थानले पालिका चिनिनु राम्रो कुरा भएको र बार्जु सभ्यताकै रुपमा विकास हुने समेत बताएका थिए । 

समितिले सङ्कलन गरेका विभिन्न नाममध्ये ‘बाजुरा नगरपालिका’, ‘टाँटे नगरपालिका’, ‘बार्जु बुढीगंगा’ लगायतका नामहरू प्रस्तावमा थिए। अन्ततः सबैको सहमति ऐतिहासिक र सांस्कृतिक गहिराइ बोकेको ‘बार्जु’ नाममा केन्द्रित भयो।

‘बार्जु’ नाम केवल नयाँ पहिचान नभई बाजुराको इतिहाससँग गाँसिएको शब्द हो। नगर प्रमुख बानियाँका अनुसार, बाइसे-चौबिसे राज्यकालमा ‘बार्जु’ एक समृद्ध र शक्तिशाली राज्यको केन्द्र थियो। किंवदन्तीअनुसार अहिलेको ‘बाजुरा’ भन्ने नाम पनि ‘बार्जु’ शब्दबाट अपभ्रंश भएर आएको हो। यही ऐतिहासिक सन्दर्भलाई सम्मान गर्दै ‘बार्जु’ नाम पुनःस्थापित गरिएको उनले बताए।

उनका अनुसार, ऐतिहासिक सभ्यतासँग जोडिएको नामले नगरपालिकाको पहिचान अझ स्पष्ट र बलियो बनाउनेछ। साथै, यसले स्थानीय संस्कृति र गौरवको संरक्षणमा पनि सघाउ पुर्‍याउने विश्वास गरिएको छ। नगर प्रमुख बानियाँले भने, “हाम्रो ऐतिहासिक चिनारी, जुन बार्जु सभ्यता हो, त्यसैलाई टेकेर नाम राख्ने निर्णय गरेका हौं। यो हाम्रो सभ्यता र इतिहासप्रतिको सम्मान पनि हो।”

नगरपालिकाको यो निर्णयलाई स्थानीयहरूले स्वागत गरेका छन्। ‘समस्या आएपछि समाधान खोज्नु उपयुक्त हो, हामीले नाम परिवर्तनलाई सकारात्मक रूपमा लिएका छौं,’ स्थानीय बासिन्दा नरेन्द्र थापाले प्रतिक्रिया दिए । 

नाम परिवर्तनको निर्णय नगर सभाबाट सर्वसम्मत रूपमा पारित भइसके पनि त्यसलाई कानुनी रूपमा लागू गर्न आवश्यक प्रक्रिया पूरा गर्न अझै केही समय लाग्नेछ। नगरपालिकाले अब उक्त निर्णय प्रदेश सभामा पठाउनेछ। प्रदेश सरकारको मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि यो प्रस्ताव संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा जान्छ। अन्ततः नेपाल सरकारको मन्त्रिपरिषद्को स्वीकृति पछि मात्र ‘बार्जु नगरपालिका’ आधिकारिक रूपमा मान्यता प्राप्त गर्नेछ।

त्यसपछि नगरपालिकाको वेबसाइट, लेटरप्याड, सूचना बोर्ड लगायत सम्पूर्ण सरकारी कागजातहरूमा नयाँ नाम प्रयोग गरिनेछ। नगर प्रमुख बानियाँले भने, “यो प्रक्रियाले केही समय लिन्छ, तर हाम्रो ऐतिहासिक पहिचानलाई पुनःस्थापित गर्नका लागि यो आवश्यक कदम हो।”

यसअघि पनि बार्जु नामसँग जोडिएका पहलहरू सुरु भइसकेका छन्। ‘रेडियो बार्जु’ र ‘बार्जु महोत्सव’ सञ्चालनमा छन् भने सुदूर साहित्य प्रतिष्ठानले बार्जुलाई सभ्यता र इतिहासको प्रतीकको रूपमा उजागर गर्दै आएको छ। प्रतिष्ठानका अध्यक्ष हर्क खडायतका अनुसार, ‘बार्जु नाम नभएर हाम्रो सभ्यता हो, इतिहास हो, विरासत हो।’

नगरपालिकाको नयाँ नामले प्रशासनिक स्पष्टता मात्र होइन, सांस्कृतिक आत्मपहिचान पनि बलियो बनाउने अपेक्षा गरिएको छ। बहुसंख्यक स्थानीय बासिन्दाले ‘बार्जु नगरपालिका’ नामप्रति समर्थन र खुसी व्यक्त गरेका छन्।

बाजुराका नौ वटा स्थानीय तह मध्ये यस अघि हालको जगन्नाथ गाउँपालिकाको नाम पनि फेरिएको थियो । जगन्नाथको सुरूको नाम पाण्डव गुफा राखिएको थियो ।

प्रतिक्रिया