बाजुरा ः जिल्लाको बुढीगंगा नगरपालिकामा बृहत कृषि, खाद्य परिकार तथा सिप प्रदर्शनी मेला सम्पन्न भएको छ । बुढीगंगा सिप विकास तथा प्रशिक्षण केन्द्रको आयोजनामा एक दिने प्रदर्शनी मेला आज सम्पन्न भएको हो ।
फालासैनमा सम्पन्न मेलामा विभिन्न स्थानीय रैथाने परिकार संगै उत्पादित कृषिजन्य वस्तुको समेत प्रदर्शनी गरिएको हो । प्रदर्शनी मेलामा नगरपालिका भित्रका १७ वटा कृषक समूहको सहभागीता रहेको थियो ।
प्रदर्शनी मेलामा सहभागि कृषक समूहले आफूले उत्पादन गरेका रैथाले कृषि उपज र रैथाने वस्तुबाट निमार्ण भएका विभिन्न परिकारको प्रदर्शनी गरिएको नगर प्रमुख रामबहादुर बाँनियाले बताएका छन् ।
किसानले उत्पादन गरेका काँक्रा, टमाटर, आलु, सिमी, केराउ, भण्टा, खुर्सानी र मकै जस्ता स्थानीय रैथाने कृषि वस्तुको प्रदर्शनी गरेका छन् ।
१७ वटा समूहमा आवद्ध किसानले आफूले उत्पादन गरेका मौसमी र बेमौसमी कृषिवस्तु र त्यसबाट निमार्ण भएका विभिन्न रैथाने परिकार समेत प्रस्तुत गरेको नगर प्रवक्ता हेमराज जैशीले बताएका छन् ।
नगरपालिका प्रमुख रामबहादुर बानियाँ, उपप्रमुख माया खड्का (कुवँर), प्रमुख प्रशासकीय अधिकृत अमरराज जोशी, नगर प्रवक्ता हेमराज जैशी लगायत वडा अध्यक्षको टोली प्रदर्शनी स्थलमा पुगेर विभिन्न कृषिजन्य वस्तु तथा परिकारको अवलोकन गरेका थिए ।
कृषकहरुले नगरपालिकाको टोलीलाई कृषकले स्थानीय रैथाने कृषिजन्य वस्तुको माला लगाएर भव्य स्वागत गरेका हुन् । परम्परागतरुपमा हराउँदै जान थालेको स्थानीय रैथाले बाली र त्यसबाट निमार्ण गर्न सकिने विभिन्न परिकारको संरक्षण र सम्बद्र्धन गर्न नगरपालिकाले विभिन्न समयमा कृषि मेला आयोजना गर्ने गरेको नगर प्रमुख रामबहादुर बानियाँले बताएका छन् ।
कृषि क्षेत्रमा बुढीगंगा नगरपालिका जिल्लामै राम्रो उत्पादन हुने नगरको रुपमा रहेको छ । बुढीगंगाले स्थानीय उत्पादनलाई जोड दिन, स्थानीय उत्पादन तथा उत्पादकत्व वढाउन कृषिमा लगानी गर्दै आएको छ ।
प्रतिक्रिया