धनगढी ः नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज लेखराज भट्टले पार्टीभित्र एकता नहुँदा गम्भीर राजनीतिक क्षति हुन सक्ने चेतावनी दिएका छन्।
नेपाल खेलकुद महासंघ सुदूरपश्चिम प्रदेशको दोस्रो अधिवेशनमा बोल्दै उनले पार्टीमा आन्तरिक र बाह्य दबाब रहेको र यस्तो अवस्थामा जनवर्गीय संगठनहरू अग्रपंक्तिमा उभिनुपर्ने आवश्यकता रहेको बताए।
उनले भने,“पार्टी संकटमा पर्दा सबै अग्रपंक्तिमा उभिनुपर्छ। अहिले पनि एमाले बलियो बन्दै गएको छ, त्यसैले घेराबन्दी भइरहेको छ। अध्यक्ष र प्रधानमन्त्रीमाथि पनि दबाब छ, त्यसको प्रतिकार गर्न एकजुट हुनुपर्छ।”
भट्टले पार्टीभित्र एकता भए सुदूरपश्चिमका सबै प्रतिनिधिसभा सिट जित्न सकिने दाबी गर्दै एकता नभए हालका दुई सिट पनि गुम्न सक्ने चेतावनी दिए। साथै, अध्यक्षको आत्मबल र सक्रियता प्रेरणादायी रहेको भन्दै दिनको २० घण्टा काम गर्ने नेतृत्वबाट खेलाडीहरूले पनि प्रेरणा लिनुपर्ने बताए।
कार्यक्रममा नेपाल खेलकुद महासंघका केन्द्रीय उपाध्यक्ष दीपेन्द्र दाहालले महासंघको भूमिका राजनीतिक संकटको बेलामा महत्त्वपूर्ण हुने उल्लेख गर्दै आगामी निर्वाचनमा एमालेलाई सक्दो योगदान दिने प्रतिबद्धता जनाए।
पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले सुदूरपश्चिममा खेलकुदको ठुलो सम्भावना रहेको बताउँदै क्रिकेटका लागि स्तरीय मैदान निर्माणको आवश्यकता औंल्याए।
प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले पछिल्लो समय एमालेले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको भन्दै नीति निर्माणमा सरकार गम्भीर हुनुपर्ने धारणा राखे।
महासंघका केन्द्रीय सचिव विष्णु चन्दले सुदूरपश्चिमको खेलकुद विकासमा महासंघ सक्रिय रहेको जानकारी गराए।
अध्यक्ष प्रकाश चन्दले कार्यक्रम समापन गर्दै महासंघले खेलाडीको क्षमता अभिवृद्धि र खेलकुद क्षेत्रको विकासमा निरन्तर काम गरिरहेको बताए। नयाँ नेतृत्वले पनि यो अभियानलाई निरन्तरता दिने विश्वास व्यक्त गरे।
प्रतिक्रिया